सुर्खेत । कर्णाली प्रदेशमा सत्ता समीकरण हेरफेर गर्दै नयाँ सरकार गठनको तयारी तीव्र पारिएको छ। मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित गराउन नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सहमति भएको हो।
मुख्यमन्त्री कँडेलले प्रदेशसभाको विश्वास गुमाइसकेको दाबी गर्दै कांग्रेस र नेकपाका १६ जना प्रदेशसभा सदस्यहरूले संयुक्त रूपमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। प्रस्तावमा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ।
नेकपा संसदीय दलको बैठकले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने र नयाँ सरकार गठनमा कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिने निर्णय गरेको छ। ४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसदको समर्थन आवश्यक पर्दछ। प्रदेशसभामा कांग्रेसका १४ र नेकपाका १४ गरी २८ सांसद रहेकाले नयाँ सरकार गठनका लागि सहज बहुमत पुग्ने देखिन्छ।
अविश्वासको प्रस्ताव पारित भएसँगै प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठनको दाबी पेस गर्ने दुवै दलको तयारी रहेको छ।
प्रतिक्रिया