काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ईनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । अदालतले बिहीबार सापकोटासहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप एक साता हिरासतमा राखी अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौँलाई म्याद थप गरेको हो ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको ‘कनेक्सन’ देखिएपछि प्रहरीले सबैभन्दा पहिले ईनम सापकोटालाई पक्राउ गरेको थियो । सापकोटामाथिको अनुसन्धानका क्रममा आर्थिक कारोबार तथा अन्य विषयमा संलग्नता देखिएपछि प्रहरीले श्रेष्ठ र भट्टलाई पनि नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकामध्ये सुशील भट्ट लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् भने महेश श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् ।
सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनअन्तर्गत अनुसन्धान
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मुख्य आरोपित सापकोटाविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा सूक्ष्म अनुसन्धान भइरहेको छ ।
त्यसैगरी, सोही प्रकरणमा मुछिएर पक्राउ परेका अन्य दुई जना श्रेष्ठ र भट्टविरुद्ध भने सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गतको कसुरमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । हिरासतमा रहेका तीनै जनासँग बयान लिने र शंकास्पद आर्थिक कारोबारका प्रमाणहरू संकलन गर्ने कार्य भइरहेको प्रहरी स्रोतले बताएको छ ।
प्रतिक्रिया