×

बक्यौता नतिर्ने क्लासिक टेक र वेब सर्फरसहित २० इन्टरनेट प्रदायकलाई दूरसञ्चार प्राधिकरणको १५ दिने अल्टिमेटम, लाइसेन्स खारेजीको चेतावनी

images

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि बक्यौता रकम नबुझाउने क्लासिक टेक, वेब सर्फर, ब्रोडलिंकलगायत २० वटा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूलाई १५ दिनभित्र सम्पूर्ण रकम चुक्ता गर्न अन्तिम चेतावनी दिएको छ । प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले मंसिर ३ गते सार्वजनिक सूचना जारी गर्दै यस्तो कडा निर्देशन दिएको हो ।

प्राधिकरणका अनुसार ती सेवा प्रदायकहरूले नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको रकम तथा सोमा लाग्ने थप दस्तुर र जरिवानासहितको बक्यौता लामो समयदेखि दाखिला गरेका छैनन् । बक्यौता रकम नबुझाएकै कारण ती कम्पनीहरूको अनुमतिपत्र (लाइसेन्स) समेत नवीकरण हुन नसकेको प्राधिकरणले स्पष्ट पारेको छ ।

तोकिएको समयमा नतिरे लाइसेन्स खारेज हुने

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरी प्राधिकरणमा जानकारी गराउन निर्देशन दिइएको छ । तोकिएको समयावधिभित्र बक्यौता दाखिला नगरेमा दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम ती सेवा प्रदायकहरूको अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाइने र बाँकी बक्यौता प्रचलित कानुनबमोजिम सरकारी बाँकीसरह असुलउपर गरिने चेतावनी प्राधिकरणले दिएको छ ।

यसैगरी, प्राधिकरणले आम उपभोक्ताहरूलाई इन्टरनेट तथा दूरसञ्चार सेवा खरिद वा प्रयोग गर्दा प्राधिकरणबाट नियमानुसार अनुमतिपत्र नवीकरण भएका वैधानिक सेवा प्रदायकहरूबाट मात्र सेवा लिनसमेत अनुरोध गरेको छ ।

बक्यौता तिर्न ताकेता गरिएका २० सेवा प्रदायकहरूको सूची

प्राधिकरणले सार्वजनिक सूचनामार्फत ताकेता गरेका २० वटा इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू निम्नअनुसार छन्:

१. अलिशा कम्युनिकेसन लिंक प्रालि (बछ्यौली–२, चितवन)
२. एरोनेट प्रालि (त्रिपुरेश्वर–११, काठमाडौँ)
३. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन लिमिटेड (सानेपा, ललितपुर)
४. क्लासिक टेक प्रालि (नयाँ बानेश्वर, काठमाडौँ)
५. कम्युनिकेसन एन्ड कम्युनिकेट नेपाल प्रालि (जावलाखेल, ललितपुर)
६. एभरेस्ट वायरलेस नेटवर्क प्रालि (नारायण नगरपालिका–१, दैलेख)
७. जीआरएस लिंक इन्टरनेट सर्भिस प्रालि (व्यास नगरपालिका–२, तनहुँ)
८. आई जोन प्रालि (उर्लाबारी–२, मोरङ)
९. कालिका नेट प्रालि (चापाकोट, स्याङ्जा)
१०. खप्तड नेट प्रालि (मङ्गलसेन, अछाम)
११. कनेक्ट नेपाल नेटवर्क्स प्रालि (थसिखेल–५, ललितपुर)
१२. मर्कन्टाइल कम्युनिकेसन प्रालि (दरबारमार्ग, काठमाडौँ)
१३. नेक्स्ट गिकर्स प्रालि (काठमाडौँ महानगरपालिका–२९)
१४. नुम्बुर नेटवर्क प्रालि (काठमाडौँ महानगरपालिका–७)
१५. पोखरा इन्टरनेट प्रालि (गैह्रापाटन, पोखरा, कास्की)
१६. साङ्ग्रिला इन्फर्मेटिक्स प्रालि (अनामनगर, काठमाडौँ महानगरपालिका–३३)
१७. सुपर सितापाइला केबल नेट प्रालि (नागार्जुन नगरपालिका–४, काठमाडौँ)
१८. टेकमाइन्ड्स नेटवर्क लिमिटेड (भरतपुर–३, चितवन)
१९. अल्ट्रानेट कम्युनिकेसन प्रालि (बनेपा नगरपालिका–१०, काभ्रेपलाञ्चोक)
२०. वेब सर्फर नेपाल कम्युनिकेसन्स सिस्टम प्रालि (धुम्बाराही, काठमाडौँ)

बिहीबार ४ मंसिर २०८३ १०:३८ AM मा प्रकाशित

प्रतिक्रिया