काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको तयारीस्वरुप राजनीतिक दलहरूसँग छलफल तथा परामर्श सुरु गरेको छ । स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल आगामी वैशाखमा पूरा हुन लागेकाले आयोगले नयाँ निर्वाचनको मिति घोषणा र व्यवस्थापनका सन्दर्भमा गृहकार्य थालेको हो ।
सोही प्रयोजनका लागि आयोगले आज (शुक्रबार) बिहान ११ः३० बजे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि आमन्त्रण गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तथा प्रदेश तहको निर्वाचनका विषयमा आवश्यक परामर्श गर्न दलका नेताहरूलाई बोलाइएको जानकारी दिए ।
आयोगका अनुसार निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीका सम्बन्धमा दलहरूको सुझाव लिन यो छलफल आयोजना गरिएको हो ।
आजको छलफलमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलहरू— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
आयोगले राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको परामर्शपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि क्रमशः छलफल गर्ने कार्यक्रम तय गरेको जनाएको छ ।
प्रतिक्रिया