काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले असंवैधानिक ढङ्गले अपहरण गरिएको लोकतन्त्र फिर्ता गरिछाड्ने र पार्टीभित्रका आर्थिक तथा आचरणगत विकृतिविरुद्ध निर्मम बन्नेसहितका १७ बुँदे विशेष सङ्कल्प पारित गरेको छ । काठमाडौँमा सम्पन्न पार्टीको दुईदिने बृहत् राष्ट्रिय भेलाले राष्ट्र, लोकतन्त्र र आन्दोलनको हितका लागि अग्रपङ्क्तिमा उभिएर जस्तोसुकै बलिदान दिन हमेशा तयार रहने निर्णय गरेको हो ।
गत वर्ष व्यहोर्नुपरेको राजनीतिक धक्कालाई चिर्दै धुलो टकटक्याउँदै उठेर आगामी निर्वाचनमार्फत सत्यलाई स्थापित गरिछाड्ने वाचा भेलाले गरेको छ । पार्टी पङ्क्तिमा देखा परेका विलासी जीवनशैली, गुटबन्दी र जनताबाट टाढिने प्रवृत्तिलाई अन्त्य गर्दै युवा पुस्तासँग संवाद र सहकार्य बढाउने प्रतिबद्धतासमेत एमालेले जनाएको छ ।
एमालेको राष्ट्रिय भेलाले पारित गरेका १७ विशेष सङ्कल्पहरू यस्ता छन्:
१. लोकतन्त्रको रक्षा र बलिदान: हामी असंवैधानिक ढङ्गले अपहरण गरिएको लोकतन्त्र फिर्ता गरिछाड्नेछौँ । राष्ट्र, लोकतन्त्र र आन्दोलनको हितका लागि अग्रपङ्क्तिमा उभिएर बलिदान दिन हमेशा तयार रहनेछौँ ।
२. आन्तरिक एकता र सुदृढीकरण: हामी सिङ्गो पार्टीलाई वैचारिक, साङ्गठनिक र भावनात्मक रूपमा एकताबद्ध, सुदृढ र गतिशील बनाउन आ–आफ्नो ठाउँबाट अधिकतम योगदान गर्नेछौँ ।
३. लडाइँ हारेका हौँ, युद्ध होइन: गत वर्ष व्यहोर्नुपरेको धक्कालाई चिर्दै धुलो टकटक्याउँदै उठ्न, आन्दोलनको पुनरुत्थान गर्न र पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न उच्च मनोबलका साथ अगाडि बढ्नेछौँ । हामी एउटा लडाइँमा पराजित भएका हौँ, सिङ्गो युद्ध हारेका होइनौँ । आगामी निर्वाचनमार्फत यस सत्यलाई स्थापित गरिछाड्नेछौँ ।
४. कमीकमजोरी सच्याउँदै अघि बढ्ने: हामी पार्टीले गरेका ऐतिहासिक कामहरूप्रति गर्व गर्छौँ । कमीकमजोरीहरूलाई बिना मोलाहिजा सच्याउनेछौँ र सकारात्मकता, नयाँ गति तथा उच्च मनोबलका साथ अगाडि बढ्नेछौँ ।
५. जनतासँग प्रत्यक्ष संवाद: हामी जनताको बिचमा जानेछौँ । उहाँहरूका सुझाव, गुनासा र आलोचना सुन्नेछौँ तथा तिनलाई आत्मसात् गर्नेछौँ ।
६. युवा पुस्तासँग सहकार्य: युवा पुस्तासँग संवाद गर्नेछौँ, उहाँहरूको मनोविज्ञान र सरोकारलाई बुझ्नेछौँ । उहाँहरूसँग सहकार्य गर्नेछौँ र आन्दोलनमा उहाँहरूको सहभागिता एवं प्रभावकारी भूमिका सुनिश्चित गर्नेछौँ ।
७. सादा जीवन र आचारसंहिताको पालना: हामी जिम्मेवारी लिँदा खाएको शपथप्रति हमेशा प्रतिबद्ध रहनेछौँ । नैतिक, पारदर्शी, सादा, उद्यमशील, स्वावलम्बी र स्वच्छ आचरणयुक्त जीवन बिताउनेछौँ । मुलुकको संविधान, कानुनसँगै पार्टी विधान, नियमावली र आचारसंहिताको अक्षरशः पालना गर्नेछौँ ।
८. विलासी शैलीको अन्त्य: पार्टी पङ्क्तिमा देखा परेका विलासी शैली, औपचारिकता, जनताबाट टाढिने प्रवृत्ति र यान्त्रिकतालाई अन्त्य गर्नेछौँ र जनताको सेवकका रूपमा स्थापित हुनेछौँ ।
९. भ्रष्टता र विचलनविरुद्ध निर्मम: कतिपय नेता–कार्यकर्तामा देखा परेका आर्थिक तथा आचरणगत विचलन, विकृति र भ्रष्टताप्रति निर्मम हुनेछौँ । तिनलाई हटाउँदै स्वच्छ, जनसेवी र भरोसायोग्य अगुवाका रूपमा नेकपा (एमाले) को छविलाई थप उज्यालो बनाउनेछौँ ।
१०. निर्वाचनमा एकताबद्ध परिचालन: निर्वाचनमा निर्धारित विधि एवं जनता र कार्यकर्ताको भावनाअनुरूप स्वस्थ ढङ्गले उम्मेदवार चयन प्रक्रियामा सहभागी हुनेछौँ । पार्टीको निर्णयलाई आत्मसात् गर्दै पार्टी उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण शक्ति केन्द्रित गर्नेछौँ ।
११. जनजीविकाका मुद्दामा अग्रसरता: महँगी, अभाव, विस्थापन, बेरोजगारी, विभेद, बसाइँसराइ, निःशुल्क र गुणस्तरीय शिक्षा तथा स्वास्थ्यजस्ता जनसरोकारका विषयमा सबैभन्दा अगाडि रहेर आवाज उठाउनेछौँ । समाधानका लागि पहल गर्नेछौँ र सुख–दुःखमा हमेशा जनताको साथमा रहनेछौँ ।
१२. स्वस्थ बहस र विधिको सम्मान: अधिवेशन र बैठकहरूमा स्वस्थ बहस गर्नेछौँ । सहमति निर्माणको प्रयास गर्नेछौँ र लोकतान्त्रिक विधिबाट हुने फैसलालाई हार्दिकतापूर्वक सम्मान गर्नेछौँ ।
१३. गुटबन्दीको निषेध: गुटबन्दी, अस्वस्थता र नकारात्मकतालाई निषेध गर्नेछौँ । आफूलाई लागेका कुरा निर्धक्कताका साथ सम्बन्धित कमिटीमा राख्नेछौँ र सार्वजनिक रूपमा पार्टी नीति, निर्णय एवं नेतृत्वको प्रतिरक्षा गर्नेछौँ ।
१४. जिम्मेवारीको उचित बाँडफाँट: असहमतिहरूलाई सम्मान गर्नेछौँ, असमझदारी र अस्वस्थता हटाउनेछौँ । सबै कमरेडहरूलाई उचित ढङ्गले जिम्मेवारी बाँडफाँट गर्नेछौँ र सिङ्गो पार्टीको ऊर्जालाई एकजुट बनाउन हरसम्भव प्रयत्न गर्नेछौँ ।
१५. कार्यसम्पादनप्रति जवाफदेहिता: हामी आफ्नो जिम्मेवारीलाई गम्भीरता, इमान र पूर्ण क्षमताका साथ पूरा गर्नेछौँ । आफ्नो काम र कार्यक्षेत्रको परिणामप्रति पूर्ण जवाफदेही हुनेछौँ । अरूतिर औँला तेर्स्याएर आफू दायित्वबाट पन्छिनेछैनौँ ।
१६. सामाजिक रूपान्तरण र विभेदको विरोध: महिला हिंसा, जातीय विभेद र छुवाछुत, श्रमिकहरूप्रति अवहेलना, अन्धविश्वास, कुरीति र राज्य एवं सामुदायिक स्रोतहरूको दुरुपयोगप्रति घृणा गर्नेछौँ । सामाजिक एकता, सद्भाव, सहिष्णुता, स्वच्छता र मर्यादाको अगुवाइ गर्नेछौँ ।
१७. जनविश्वास र आन्तरिक रूपान्तरण: हामी विश्वास गर्छौँ– पार्टीको शक्तिको स्रोत जनविश्वास हो, नेतृत्वको आधार पार्टी पङ्क्ति र समाजबाट प्राप्त विश्वास हो । सङ्गठनको शक्ति विधि र अनुशासनमा निहित हुन्छ र राजनीतिको आदर्श जनताको सेवा हो । पार्टीको भविष्य आफूभित्र हुने रूपान्तरण र सामाजिक रूपान्तरणमा खेल्ने भूमिका हो । हामी यसै आधारमा अगाडि बढ्नेछौँ ।
प्रतिक्रिया