ईसञ्चारपाटी समाचारदाता
काठमाडौँ — अविरल वर्षाका कारण काठमाडौँ उपत्यका भएर बग्ने बागमती नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदीको सतह लगातार बढ्दो क्रममा रहेकाले तटीय र डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।
गौरीघाट जलमापन केन्द्र र आसपासका क्षेत्रमा बागमती नदीले सतर्कताको विन्दु नाघेको महाशाखाले जनाएको छ ।
बाढी पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै बागमतीसँगै उपत्यकाका अन्य सहायक नदीहरू मनोहरा र धोबीखोलामा पनि बाढीको जोखिम बढेको उल्लेख गरेको छ । विशेष गरी नदी कोरिडोरका सडकहरूमा रात्रिकालीन यात्रा नगर्न र नदी किनारका बस्तीहरूमा रहने नागरिकहरूलाई सुरक्षित स्थानमा सर्ने तयारी अवस्थामा रहन भनिएको छ ।
"वर्षा निरन्तर जारी रहेकाले नदीको बहाव अझै बढ्ने सम्भावना छ," महाशाखाका एक अधिकारीले भने, "तल्लो तटीय क्षेत्र र विगतमा डुबान भइरहने होचा भूभागमा बस्ने बासिन्दाहरूले सोमबार बिहानसम्म विशेष सावधानी अपनाउनु आवश्यक छ।"
नदीमा पानीको सतह बढेसँगै सम्भावित डुबान र विपद्लाई ध्यानमा राखी उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का सुरक्षा निकायहरूलाई 'अलर्ट' राखिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उद्धार टोलीहरूलाई आवश्यक उपकरणसहित तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ।
प्रशासनले नदी किनारका बासिन्दालाई पानीको बहाव निरन्तर अनुगमन गर्न र कुनै पनि आपत्कालीन अवस्था आएमा तत्काल नजिकको प्रहरी कार्यालय वा १०० मा सम्पर्क गर्न अनुरोध गरेको छ।
ताजा र प्रमाणित अपडेटहरूका लागि esancharpati.com फलो गर्दै गर्नुहोला।
प्रतिक्रिया