काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि पनि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन कडा निर्देशन दिएको छ ।
त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै बिदा उपभोग गरेपश्चात् नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक तथा कर्मचारीहरूलाई समितिको कार्यालयमा अविलम्ब सम्पर्क राख्न आग्रह गरेको हो ।
तोकिएको १५ दिने समय सीमाभित्र सम्पर्कमा नआएमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं त्रिविको नियमानुसार कडा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने सूचनामा स्पष्ट पारिएको छ ।
विश्वविद्यालयका अनुसार दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति तयार गर्ने उद्देश्यले प्राध्यापकहरूलाई विशेष सुविधाका रूपमा अध्ययन बिदा प्रदान गर्ने गरिन्छ । तर, केही प्राध्यापकहरूले यस सुविधाको दुरुपयोग गर्दै अध्ययन पूरा भएपछि पनि सेवामा नफर्किएका कारण विश्वविद्यालयलाई ठुलो आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिविको ठहर छ ।
त्रिविले सम्झौता अनुसारको सेवा दायित्व पूरा नगर्नेहरूबाट बाँकी रकम असुली प्रक्रियालाई निरन्तर अघि बढाउने जनाएको छ । यसअघि अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकहरूबाट हालसम्म रु. ११ करोड ८४ लाखभन्दा बढी रकम फिर्ता गराइसकिएको समेत विश्वविद्यालयले उल्लेख गरेको छ ।
प्रतिक्रिया