×

भ्रष्टाचारी र बिचौलियाको चाहनामा बनेको गठबन्धन सरकार हो भनेर छ्याङ्ग भयो-प्रचण्ड

images

भैरहवा - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारी र बिचौलियाको चाहनामा बनेको गठबन्धन सरकारभित्रै असन्तुष्टि तीव्र भइसकेकाले आफूहरूले धेरै विरोध गर्नु नपर्ने बताएका छन्। आज भैरहवामा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा प्रचण्डले  बिचौलियाकै कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको उल्लेख गरे ।  सरकारले राम्रालाई नियुक्त गर्ने भन्दा बिचौलियालाई अवसर दिने गरेको उनको आरोप छ । बिचौलियाकै इशारामा सरकारले राम्रा कर्मचारीलाई दुख दिने गरेको प्रचण्डले बताए ।

 भेटघाटमा बोल्दै पूर्व प्रधानमन्त्री दाहाल प्रचण्डले सरकारमा संलग्न नेपाली कांग्रेसका महामन्त्रीले नै प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको उल्लेख गर्नुले आफूहरूको आरोप पुष्टि भएको बताए।  ‘पहिले त माओवादी र प्रचण्डले भनेको पुर्वाग्रह हो कि भन्ने लाग्थ्यो होला । अहिले त यो कुरा कांग्रेसका महामन्त्रीहरुले नै भन्न थाल्नुभयो ‘, उनले भने, ‘अब त छ्याङ्ग भयो नि ! प्रचण्डले लगाएको यो झुटो होइन रैछ, साँचो रैछ भन्ने ।’

‘एमालेभित्र पनि असन्तुष्टि भुसीको आगोझैँ फैलिएको छ,’ उनले भने, ‘सरकारमा सहभागी दलका नेतासँगको संवादका आधारमा यो सरकार नयाँ वर्षसँगै जान्छ भनेको थिएँ। यो सरकार जतिदिन लम्बिन्छ, त्यति जनताको लागि दुर्भाग्य हो।’ सरकारले गरिरहेका राजनीतिक नियुक्ति पनि बिचौलियाको स्वार्थअनुसार भइरहेको आरोप उनले लगाए।

‘अहिलेको सरकारले राम्रो काम गर्ने इमानदार कर्मचारीलाई प्रताडित तुल्याइरहेको छ,’ उनले भने, ‘आफ्नो मान्नेलाई मात्र भर्ना गरिरहेको छ।’ अहिले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्नुको कारण बिचौलियाबीचको तानातान भएको उनले बताए।

 ‘अहिले गभर्नरको विषयमा बिचौलियाको बीचमा तानातान छ । तपाईंहरुलाई लाग्छ होला पार्टीहरुको बीचमा भागबन्डा मिलेको छैन । तर, कुरा नमिलेको बिचौलियाको बीचमा हो’, उनले भने, ‘यो समूहको हुने कि त्यो समूहको हुने भन्ने टुंगिएको छैन । उनीहरुले कहिले कांग्रेसलाई कहिले एमालेलाई पक्डेका छन् । त्यसैले ढिलो भइराखेको छ ।’

‘बिचौलियाको यो समूहको गभर्नर हुने कि त्यो समूहको भन्ने लडाइँ हो,’ उनले भने, ‘त्यसैले हामीले गभर्नर जस्तो आर्थिक सुशासन दिने पदमा बिचौलियाको चलखेल बन्द गर्न भनेका छौँ।’ मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त हुनुपर्नेमा सुरुदेखि आफ्नो पार्टीले जोड दिइरहेको उनले बताए। अर्थतन्त्रका समस्या समाधान गर्न सक्ने व्यक्तिलाई गभर्नर नियुक्त गरिनु पर्ने उनको भनाइ थियो।

उनले यसरी अर्थतन्त्रलाई नियमन, नियमित गर्ने, सन्तुलित बनाउने महत्वपूर्ण संवेशदनशील पदका विषयमा हुने बिचौलियाको चलखेल बन्द गर्न आग्रह गरे । पार्टी र समाजवादी मोर्चाकै तर्फबाट पनि पटक पटक सरकारलाई खबरदारी गरिरहेको बताउँदै उनले सरकारले भने त्यतातिर ध्यान नदिएको बताए ।

बिहीबार ४ बैशाख २०८२ ११:२० AM मा प्रकाशित

प्रतिक्रिया