×

सङ्घीयता फेल भयो भनेर हचुवाको भरमा टिप्पणी नगरौँ : बाग्मती प्रदेशका सभामुख

images

 वागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालको सङ्घीय संरचनाबारे अनावश्यक टिप्पणी नगर्न विज्ञहरूलाई आग्रह गर्नुभएको छ । 

आज मङ्गलवार बाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण समितिले आयोजना गरेको लैङ्गिक तथा सामाजिक समावेशीकरण विषयक कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले यस्तो आग्रह गर्नुभएको हो । उहाँले सङ्घीय संरचनाकाबारे कसैले पनि विस्तृत र गहन अध्ययन नगरेको भन्दै अनुमानको भरमा टिप्पणी बन्द गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सङ्घीयता फेल भयो, सङ्घीयता पास भयो भनेर हचुवाको भरमा भन्ने  होइन, बजेटको कुरादेखि सबैमा प्रभावकारिताको मूल्याङ्कन गरेर अघि बढ्नुपर्छ । यसले भोलिका दिनमा आउने पुस्ता र संसद्लाई शिक्षाको विषयवस्तु बन्नेछ । बाग्मती सरकारको तर्फबाट पनि प्रदेशको काम के कति भयो भन्नेबारेमा बजेट सकिएपछि छलफल गर्ने कुरा भएको छ । हामीले गरिरहेको कामहरूको समीक्षा हुन जरुरी छ ।’

कार्यक्रममा बाग्मती प्रदेश सांसद सीता लामाले अपाङ्गता भएका व्यक्तिका लागि प्रदेशले आवश्यक बजेट छुट्याउन नसकेको गुनासाे गर्नुभयाे । उहाँले सामाजिक वृद्धि विकास गर्ने कुरा नीतिमा कागजमै सीमित भएको तर बजेटमा आउन नसकेको बताउनुभयो ।

अर्का सांसद सरेश नेपालले नेपाली समाजमा महिलाहरूमा सबैभन्दा ठूलो समस्या सम्पत्तिकाे अधिकारको व्यावहारिक उपयोगको रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तन र त्यसका असर ध्यानमा राखेर नदी किनारमा सडक र बस्ती बसाल्ने कुरालाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

अर्का सांसद डा. राजाराम कार्कीले दिगो विकासको लक्ष्य प्राप्त गर्नलाई प्रतिवर्ष ३४ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्नुपर्ने अवस्था रहे पनि साधारण खर्च बढी हुने गरेको बताउनुभयो । उहाँले नेपालको पुँजीगत खर्च गर्ने क्षमता भनेको २७ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै यसलाई वृद्धि गर्नका लागि आउँदाे आर्थिक वर्षको बजेटमा सङ्घीय सरकारले सान्दर्भिक कार्यक्रम उठान गरेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति रमा आले मगरले नागरिकले नागरिकमैत्री ऐन भन्दा पनि नागरिकमैत्री विकास चाहेको बताउनुभयो । उहाँले विकासको कुरा जनचाहनामा धेरै रहेको र त्यसपछि मात्रै नागरिकमैत्री ऐन चाहेको आफ्नो कार्यकालको अनुभव रहेको बताउनुभयो । 

मङ्गलबार ३१ जेठ २०७९ ०५:२० PM मा प्रकाशित

प्रतिक्रिया