×

सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राष्ट्रपतिद्वारा दर्शन एवं पूजा आराधना

images

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रामा हजारौँको सहभागिता जुटेको छ ।

रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो । बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । पहिलो दिन आज रथ असन पु¥याइएको छ । रथ असन पुगेपछि अहिले पूजा, आराधना गर्ने भक्तजनको भीड लागेको छ । 

सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्र बहालमा ल्याएर अन्त्य गरिन्छ । रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गर्ने परम्परा छ । अष्टमीका दिन आज कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका–२५ का अध्यक्षसमेत रहनुभएका नीलकाजी शाक्यले  जानकारी दिनुभयो ।   

राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन एवं पूजा आराधना

राष्ट्रपति विद्यादेवी भण्डारी हिजो  राति १० बजे असन पुगी सेतो मच्छेन्द्रनाथको रथको पूजा आराधना गरी प्रसाद ग्रहण गर्नुभएको छ ।
 प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशालाअघिबाट सेतो मच्छेन्द्रनाथको रथ तानी असन ल्याएको राति राष्ट्राध्यक्षले पूजा, आराधना एवं दर्शन गर्ने परम्परा छ ।

असनमा पूजा आराधना एवं दर्शनपछि  राष्ट्राध्यक्षले प्रसाद ग्रहण गर्ने विधिअनुसार राष्ट्रपति भण्डारी आज राति १० बजे असन पुग्नुभएको काठमाडौँ महानगरपालिका वडा नंं २५ का अध्यक्ष, सेतो मच्छेन्द्रनाथका पुजारी एवं जात्रा व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले राससलाई जानकारी दिनुभयो ।    

तीनधारा पाठशालाअघि एक हप्ताअघिदेखि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि देशभर वर्षा र सह हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । 

तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । रथ लगेर बिसाएका स्थानमा करुणामय भगवान् लोकेश्वरको पूजा आराधनाका लागि भक्तजनहरु जम्मा हुने गर्दछन् । सेतो मच्छेन्द्रनाथलाई हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले विधिपूर्वक पूजा आराधना गर्छन् । काठमाडौँमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकेपछि ललितपुरमा रातो मच्छेन्द्रनाथको रथयात्रा हुने गरेको छ 

आइतबार​ २७ चैत २०७८ ०८:४५ AM मा प्रकाशित

प्रतिक्रिया