×

रसुवा बाढी अपडेटः १८ जना अझै बेपत्ता, २३ जनाको हेलिकप्टरबाट उद्धार, खोज तथा उद्धारमा थप फौज खटियो

images

काठमाडौं । जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले रसुवामा आएको बाढीबारे प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।

महाशाखाले जारी गरेको प्रतिवेदनअनुसार आज बिहान करिब ३ बजे भोटेकोशी नदीमा तिब्बत क्षेत्रतर्फबाट एक्कासि ठूलो बाढी आएको देखिएको छ। तर, उपलब्ध विवरणहरूको विश्लेषण गर्दा केवल वर्षाका कारण यति ठूलो बाढी आएको प्रमाणित नदेखिएको महाशाखाले जनाएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘तिब्बत क्षेत्रतर्फबाट आएको पानीको मात्रा असामान्य देखिएको छ। घटनाको थप विस्तृत अध्ययन भइरहेको छ।’

महाशाखाले हाल घटनास्थलको स्थलगत अवलोकन गरी थप तथ्य संकलन गर्ने तयारी गरेको छ।

बाढीका कारण १८ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयको प्रारम्भिक रिपोर्टअनुसार लेन्डेखोलामा आएको बाढीका कारण नेपाल प्रहरीका ३ जनासहित १२ नेपाली र ६ जना चिनियाँ नागरिक गरी १८ जना बेपत्ता भएका हुन्।

बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । पुल नहुँदा नेपाल र चीनबीचको सम्पर्क विच्छेद भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बगेको पुलसम्म पुग्ने सडकहरू पनि बगाएका कारण मानिसहरू अलपत्र परेका छन्।

बाढीले रसुवागढी भन्सार कार्यालय आसपासमा रहेको मालवाहक कन्टेनरहरू र गाडीहरू समेत बगाएको छ। रुसुवाको स्याफ्रुबेसीदेखि रसुवागढी नाकासम्मको बाटो समेत बन्द भएको छ। सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू समेत हराइरहेको हुँदा क्षतिको पूर्ण विवरण आएको छैन।

अजैसम्म बाढिमा फसेका सबै सम्पर्कमा आउन नसकेको र उद्धारको क्रम जारी रहेकोले कति अहिलेसम्म अनुमान गरिएभन्दा बढि भएको हुनसक्ने जोखिम समेत रहेको सुरक्षा निकायले जनाएको छ। बाढीका कारण विभिन्न ठाउँमा फसेका एक नेपाल प्रहरी, एक सशस्त्र प्रहरी र अन्य ७ जना मानिसहरूलाई उद्धार गरिएको छ।

बेपत्ताको सूची – 
प्रहरी

इ.प्र.का. टिमुरे रसुवामा कार्यरत रामेछापको लिखु तामाकोसी गाउँपालिका-४ का वर्षीय ४२ लालबहादुर श्रेष्ठ

इ.प्र.का. टिमुरे रसुवामा कार्यरत बाराका २४ वर्षीय मुन्ना ठाकुर

भई इ.प्र.का. टिमुरे रसुवामा कार्यरत बझाङका २३ वर्षीय लोकेन्द्र बोहोरा

चिनियाँ नागरिक

यु युए

लि हुक्वाइङ

नयाङ चुआन

यु हाइ हाङ

यु छिआओ कुई

जोउ योङ

नेपाली

बर्दियाका ३६ वर्षीय जिपन चौधरी

सोही स्थानका ३५ वर्षीय सन्तोष

२५ वर्षीय बुद्धिराम राम थारु

२४ वर्षीय लक्ष्मीनारायण थारु

३० वर्षीय सुरेश थारु

बागलुङका वनरेन्द्र विक

सिन्धुपाल्चोकका कन्टेनर डिब्बा चालक फुर्वा लामा

मिक्चर चालक  गोविन्द मोक्तान

हाइलक्स चालक लोकमान तामाङ

यसैबीच, रसुवा उत्तरगया गाउँपालिका-५ उत्तरगयाधामको खोला किनारमा पुरुष व्यक्तिको दाहिने खुट्टा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

गोसाईकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारलाई नेपाली सेनाको हेलिकप्टरमार्फत अन्य सुरक्षा निकाय र स्थानीयको समन्वयमा सुरक्षित स्थानमा सारिएको हो।

यसैबीच, बाढीका कारण सम्पर्कविहिन भएका व्यक्तिहरुको खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। नेपाली सेनाको धादिङस्थित नं. ६ बाहिनी अड्डाबाट गल्छी हुँदै त्रिशूली क्षेत्रतर्फ र रसुवास्थित श्रीनाथ गणबाट स्याफ्रुबेशी इलाकातर्फ थप फौज खटाइएको नेपाली सेनाले जनाएको छ।

बाढीबाट भएका क्षति र बेपत्ताहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ।

मङ्गलबार २४ असार २०८२ ०२:२९ PM मा प्रकाशित

प्रतिक्रिया