×

नेकपामा युवाहरूको आकर्षण बढेको छ - माधव कुमार नेपाल

images

 

काठामडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले नेकपामा युवाहरूको आकर्षण बढेको र हजारौंको संख्यामा युवाले आफ्नो पार्टी प्रवेश गरेको बताए।

शनिबार जनकपुरमा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको अन्त्य गरि सुशासन कायम गर्दै जेनजी आन्दोलनको जायज मागलाई अघि बढाउन पार्टीले मुख्य भूमिका खेल्ने जिकिर गरे।

त्यस्तै अन्य नेकपा नेताहरुले पार्टीलाई बलियो शक्तिको रुपमा स्थापीत गर्दै मुलुकमा देखिएका बेथिति अन्त्य गर्ने धारणा राखेका थिए। नेकपाले पार्टी एकताको सन्देश दिन बिभिन्न प्रदेशमा सन्देशसभा गर्दै आएको छ। अब कर्णाली र काठमाडौंमा एकता सन्देशसभाको आयोजना गरिने नेकपाले जनाएको छ। 

पूर्व प्रधानमन्त्री समेत रहेका सहसंयोजक नेपालले जेनजी पुस्ताको माग जायज भएको र ती मागहरू पूरा गराउन नेकपा निर्माण भएको बताए। उनले नेपाललाई समृद्ध बनाउन सबै एकीकृत हुनुपर्ने कुरामा जोड दिए।

उनले सिरहा र जनकपुर आफ्नो मामाघर रहेको बताउँदै धनुषा जिल्लाको गाउँगाउँबारे आफूलाई जानकारी रहेको बताए। नेपालले नेकपाले मधेशको मुक्तिका लागि सङ्घर्ष गर्दैछ र यसले नै मुक्ति दिलाउने विश्वास गर्न आग्रह गरे। उनले ज्येष्ठ नागरिक, दलित र मुस्लिमका लागि आवाज उठाउने पार्टी आफूहरूको पार्टी रहेको बताउँदै जनकपुरको इज्जतका लागि आफ्नो पार्टीले काम गरेको बताए।

कुनै पनि नेपाली रोजगारीका लागि विदेश जान नपरोस्, सबैले शिक्षा, स्वास्थ्य र रोजगार पाऊन् भन्ने उद्देश्यका साथ कम्युनिष्ट पार्टीहरू एकीकृत भएको दाबी गर्दै उनले नेकपाप्रति नेपालीहरूको आकर्षण बढेको बताए।

शनिबार २१ मंसिर २०८२ ०८:१० PM मा प्रकाशित

प्रतिक्रिया