×

कुलमान ऊर्जामन्त्रीको प्रस्तावमा हट्नुभयो ,अनि गाली, दोष प्रधानमन्त्रीलाई , गठबन्धन सरकारको अभ्यास र कार्यतरिका हेक्का रहोस -सूर्यबहादुर थापा

images

काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले ऊर्जामन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई बर्खास्त गर्दै पनि कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायत लक्षित गर्दै गठबन्धन सरकारको अभ्यास र कार्यतरिका हेक्का राख्न आग्रह गरे ।

‘ठीक भयो कि बेठीक, मन्त्रिपरिषद्ले निर्णय गर्यो । म त्यतातिर केही बोलिनँ । तर, ऊर्जामन्त्री नेपाली कांग्रेसको प्रतिनिधित्व गर्नुहुन्छ कि गर्नुहुन्न ? गठबन्धन सरकारको अभ्यासमा अभ्यास र कार्यतरिका कस्तो हुन्छ ? यसको हेक्का छैन र ? ऊर्जामन्त्रीको प्रस्तावमा उहाँ हट्नुभयो । अनि गाली प्रधानमन्त्रीलाई, दोष प्रधानमन्त्रीलाई ?’ प्रश्न गर्दै उनले भने ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र राज्यमन्त्रीलाई हटाउने प्रधानमन्त्रीको स्वैच्छाको विषय नरहेको पनि उनले बताए । कुलमान र राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्तगीलाई कांग्रेसका केही नेताहरुले प्रधानमन्त्रीमाथि दोष थुपारेर उम्किने विषय बनाएको उनको आरोप छ । नेता थापाले पार्टी सभापति शेरबहादुर देउवासँग समन्वय भएको भनेर तथ्य बुझ्नसमेत आग्रह गरे । 

थापाले सांसद गीता बस्नेतको खोजीमा सहयोग गर्न उनकै पार्टी राप्रपालाई आग्रह गरेका छन् ।‘छिपछिपे सहकारीको बचत दुरुपयोगमा संलग्न आफ्नो सांसद गीता बस्नेत कहाँ हुनुहुन्छ ? कानुनी प्रक्रियामा ल्याउन सहयोग गर्नुस्,’ सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने ।

राप्रपाकी सांसद गीता बस्नेत १ वर्षदेखि फरार छिन् । नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् ।

छिपछिपे सहकारीबाट १६ करोड ५८ लाख हिनामिनाको विषयमा अनुसन्धान हुँदा सांसद बस्नेत सञ्चालक रहेको बर्दियास्थित कृष्णसार रिसोर्टमा ९६ लाख ऋण लगानी भएको खुलेको थियो । चितवनको सनराइज सहकारीबाट तीनजना व्यक्तिको नाममा करिब ९ करोड लगेर रिसोर्टमा लगानी भएको प्रहरीको प्रतिवेदनमा छ । बर्दियाको नमस्ते सहकारीबाट सञ्जीवकुमार महतोका नाममा समेत २५ लाख निकालेर रिसोर्टमा लगानी भएको छ । 

प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले राजनीतिक अस्थिरता नेपालको ऐतिहासिक समस्याको रुपमा रहँदै आएको बताएका हुन् । २००७ साल पछि हालसम्म ३/४ वटा सरकारले मात्रै साढे तीन वर्ष वा तीन वर्ष समयाअवधि काम गर्न पाएको उनले बताए । अन्यथा सरकार बदलिरहेको उनको भनाइ छ ।

सांसद थापा भन्छन्, ‘वि.स. १८२५ मा काठमाडौं एकीकरण भए यताको २५७ वर्षमा न भारदार काल न राणाकाल, न राजतन्त्र काल न प्रजातन्त्रकाल, लोकतन्त्र काल न गणतन्त्र काल कुनैमा पन स्थिरताको अनुभूति हुने खालको अवस्था रहेन ।’ सँधै अस्थिरताको अनुभवको बानी अहिले पनि छचल्किने गरेको उनले बताए । अस्थिरताकै कारण पञ्चायत आएको र पञ्चायत ढलेपछि पनि स्थिरता प्राप्त गर्न नसकेको बताए । संख्यात्मक हिसावले हाल मुलुकमा सरकार बलियो रहेको थापाको भनाइ थियो । तर, सरकार ढाल्ने प्रयास भइराखेको भनेर नेताहरूले भनिरहेको पनि स्मरण गरे । 

थापाले प्रमुख नेताहरू बसेर छलफल गरी राजनीतिक संयन्त्र खारेज गर्न सकिने बताएका छन्। सत्ता साझेदार दल एमाले र नेपाली कांग्रेसबीच संयन्त्रले समस्या भयो भन्ने लाग्यो भने खारेज गर्न सकिने उनको भनाइ छ।

‘यदि सत्ता साझेदार दलहरूबीच संयन्त्रको अभ्यास एक हिसाबले समस्या भयो भन्ने लागेको छ भने प्रमुख नेताहरू बसेर छलफल गरी त्यसलाई खारेज गरे हुन्छ, विघटन गरे हुन्छ तर अस्थिरतालाई मलजल गर्ने काम सत्ता साझेदार दलभित्रबाट कसैले पनि गर्न हुँदैन,’ सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले भने, ‘दुई दलले गरेका सहमतिलाई निष्कर्षमा पुर्‍याउने गरी काम गर्नुपर्ने होइन र? आन्तरिक प्रतिस्पर्धाको अभ्यास महाधिवेशनमा हुन्छ, त्यसले गठबन्धन र सरकारलाई प्रभाव पार्न हुँदैन।’

राजनीतिक संयन्त्रमा कांग्रेस र एमालेका शीर्ष नेताहरू छन्।

सोमबार २२ बैशाख २०८२ ०१:१० PM मा प्रकाशित

प्रतिक्रिया