×

सामाजिक अपराध वा विसंगतिमा दोषी ठहर भएकालाई कांग्रेसले उम्मेदवार नबनाउने

images

काठमाडौं । नेपाली कांग्रेसले सामाजिक अपराध वा विसंगतिमा दोषी ठहर भइसकेका व्यक्तिहरूलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी नदिने नीतिगत निर्णय गरेको छ ।

सोमबार मातहतका संगठनहरूलाई पठाइएको परिपत्रमा पार्टीले कुनै पनि प्रकारका सामाजिक विसंगति—जस्तै जातीय भेदभाव, घरेलु हिंसा, बालश्रम लगायतका अपराधमा अदालतबाट दोषी ठहरिएकालाई उम्मेदवारको रूपमा सिफारिस नगर्न निर्देशन दिएको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको परिपत्रमा यस्ता व्यक्तिहरू कांग्रेसका तर्फबाट उम्मेदवार बन्न योग्य नहुने उल्लेख छ ।

कांग्रेसले प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय कार्यसमितिहरूलाई प्रतिनिधिसभा (प्रत्यक्ष तथा समानुपातिक) र राष्ट्रियसभा सदस्यका लागि नाम सिफारिस गर्न यही परिपत्रमार्फत आग्रह गरेको हो ।

मुख्यसचिव पौडेलका अनुसार केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले पार्टी विधानअनुसार उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाउन निर्णय गरेपछि सम्बन्धित निकायहरूलाई परिपत्र जारी गरिएको हो ।

मङ्गलबार १७ मंसिर २०८२ ०८:३९ PM मा प्रकाशित

प्रतिक्रिया