काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भोलि (बुधबार) विश्वासको मत लिने भएका छन्। आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले यस्तो जानकारी गराएका हुन् ।
हिजोमात्रै मुख्यमन्त्री यादवको नाममा २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो । आज ढिलोगरि पत्रकार सम्मेलन गर्दै उनले आफूले विश्वासको मत लिनको लागि प्रदेश प्रमुख कार्यालयमा पत्राचार गरिसकेको जानकारी दिए ।
उनले सर्वोच्च अदालतले २४ घण्टाभीत्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने वित्तिकै विश्वासको मत लिनुभन्दा पहिला प्रदेश सभामा जानकारी गराउनुपर्ने, पत्र दर्ता गर्नुपर्ने लगायतका कागजी कामहरु गरेकोले केही ढिलो हुन गएको बताए ।
उनले पत्र प्राप्त भएको समयदेखि २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने बताए । सोही अनुसार उनले भोली विश्वासको मत लिने जानकारी दिए ।
मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्नेमा आफू ढुक्क रहेको पनि बताए । उनले विभिन्न दलहरु संग कुरा भएको र आफूले विश्वासको मत पाउनेमा कुनै संका नरहेको बताए ।
हिजो बेलुका सर्वाेच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।
प्रतिक्रिया