×

मधेस कृषि विश्वविद्यालयका उपकुलपति महतो र रजिस्ट्रार ठाकुर निलम्बित

images

जनकपुर । मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा. वैजनाथ महतो र रजिस्ट्रार श्रीभगवान ठाकुरलाई पदबाट निलम्बन गर्ने निर्णय भएको छ । विश्वविद्यालयसभा (सिनेट) बैठकबाट उपकुलपति र रजिस्ट्रारलाई पदबाट निलम्बन गर्ने निर्णय पारित भएको मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले जानकारी दिए ।

विश्वविद्यालयका कुलपति समेत रहेका प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितमा जनकपुरधाममा भएको सिनेटको बैठकबाट बहुमतले पारित भएपछि डा. महतो र ठाकुरलाई निलम्बन गरिएको शिक्षामन्त्री तिवारीले बताए । प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले गत असोज ७ मा बुझाएको प्रतिवेदनका आधारमा दुवै जना विश्वविद्यालयको अनाधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले सिनेटबाट दुवैलाई निलम्बन गर्ने निर्णय भएको जनाइएको छ ।


मङ्गलबार अबेर रातिसम्म चलेको बैठकमा विश्वविद्यालयका कुलपति एवं मुख्यमन्त्री सिंह, सहकुलपति एवं शिक्षा तथा संस्कृतिमन्त्री तिवारीलगायत विश्वविद्यालय सिनेटका पदाधिकारी तथा सदस्यहरू सहभागिता थियो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि बैठकबाट पारित भएको थियो। लामो समयदेखि सभा नहुँदा विश्वविद्यालयमा आर्थिक कारोबार ठप्प भएपछि विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले तलब पाउन सकेका थिएनन् ।

सेवा प्रदायकहरूले बक्यौता रकम नपाउँदा शैक्षिक सामग्री, इन्धन, विद्युत्, पानी, सञ्चारलगायत सेवा अवरोध गरेका छन् भने यहाँ अध्ययनरत कृषि विज्ञानका दुई सेमेस्टरका एक सय विद्यार्थीको नियमित पढाइ भएको छैन । नियमित पठनपाठन गराउने तथा विद्यमान समस्या समाधान गर्नका लागि यो बैठक बसेको बताइएको छ । बैठकले गरेका निर्णय कार्यान्वयन भएसँगै विस्तारै समस्या समाधान हुँदै जाने मन्त्री शर्माले विश्वास व्यक्त गरे ।

बुधबार २१ फागुन २०८१ ०७:५९ PM मा प्रकाशित

प्रतिक्रिया