काठमाडौं। आज मे दिवस अर्थात् यस वर्षको १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ।
श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।
विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन्।
यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन्।
सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ।
सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो। मजदुर आन्दोलनले अन्ततः सफलता हासिल गर्यो।
पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो।
नेपालमा पनि विराटननगरमा विस. २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो। विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ।
यहाँ मे दिवसको परम्परा पञ्चायती शासनको विरोध गर्दै भित्रिएको थियो। नेपाल ट्रेड युनियन महासंघका अनुसार पहिलोपटक विसं २०१९ मा नेपाल मजदुर संगठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो।
आफ्नो रगत, पसिना र श्रम बेचेर मेहनतको कमाई खाने श्रमिकको पर्वको रूपमा रहेको श्रमिक दिवस श्रमिकको हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रूपमा बुलन्द गरी विश्वभरका श्रमिकलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने र सम्पूर्ण श्रमिकहहरुको एकता, वीरता र सङ्घर्षको प्रतीक मानिन्छ ।
पूँजीपति वर्गद्वारा मजदुरलाई मेसिन झै चौबिसै घण्टा काममा लगाउने र अत्यन्त न्यून पारिश्रमिक दिई अमानवीय व्यवहार गर्ने परिपाटीका विरुद्ध सङ्गठित भएको ट्रेड युनियन आन्दोलनलाई मे दिवसका दिन विशेष चर्चा गर्ने गरिन्छ । आजका दिनमा विश्वमै मजदुरका पक्षमा बोल्ने ट्रेड युनियनहरुले मजदुरका विषयमा बोल्ने आवाज उठाउने गर्छन् ।
तर नेपालमा भने यो दिवसको रुपमा एक दिन विदा दिने बाहेक मजदुरका पक्षमा वकालत गर्ने गरी कुनै किसिमका कामहरु हुने गरेको पाइदैन ।
प्रतिक्रिया