काठमाडौँ । एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपालले मंगलबार भएको फाइनल खेलमा आयोजक राष्ट्र मेलेसियालाई दुई सय २१ रनको विशाल अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । टस जिती पहिलो ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने १४.५ ओभरमै अलआउट हुनुअघि ३१ रनमात्र बनाउन सक्यो ।
नेपालले दिएको विशाल लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अलआउट भयो। नरेनको विष्फोटक ब्याटिङमा नेपालले मलेसियालाई विशाल लक्ष्य दिएको थियो। ८९ बलको सामना गरेका नरेनले १० चौका र २ छक्का मद्दतमा १ सय १२ रनको पारी खेले। पाँचौँ विकेटका लागि नरेन र सन्तोष यादवले १ सय ३ रनको साझेदारी गरे। सन्तोषले २९ बलमा २६ रन थपे।
त्यसअघि दोस्रो विकेटका लागि ओपनर निरज कुमार यादव र नरेनले ५५ रनको साझेदारी गरेका थिए। पहिलो विकेटका लागि ओपनर निरज र सुर्याशु कोइरालाले ४१ रनको साझेदाी गर्दै नेपालले उत्कृष्ट सुरुवात दिलाएका थिए। निरजले ४८ बलमा ४७ रनको योगदान दिए। सुर्यांशुले १८ र सन्तोष यादवले २६ रन थपे। मुहम्मद अक्रमले बनाएको १० रन नै मलेसियाका लागि सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
नेपाली टोलीका बलर अभिषेख तिवारी एक्लैले पाँच विकेट लिए । उनले ६ ओभरमा एक मेडन राख्दै केवल सात रन खर्चिएका थिए । सन्तोष यादवले पनि तीन विकेट हात पारे । उनले तीन ओभरमा दुई मेडन राख्दै नौ रन खर्चिएका थिए । सागर गैरेले पनि एक विकेट लिए । अशोक धामीले पनि एक विकेट हात पारे ।
नेपालले सोमबार भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । आयोजक मलेसिया भने अर्को सेमिफाइनल खेलमा हङ्कङलाई ७८ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।
प्रतिक्रिया