×

आस्था र निष्ठाको महापर्व छठ सुरु: मिथिलाञ्चलमा गुञ्जिन थाले छठीमाताका गीत, बजारमा किनमेलको घुइँचो

images

महोत्तरी । दीपावली (तिहार) सकिएलगत्तै कात्तिक शुक्ल चतुर्थी अर्थात् आज शुक्रबारदेखि तराई–मधेस र विशेष गरी मिथिलाञ्चलको सबैभन्दा ठुलो सांस्कृतिक एवं धार्मिक पर्व छठ विधिवत् रूपमा सुरु भएको छ। आस्था, निष्ठा र शुद्धताको प्रतीक मानिने यस पर्वको सुरुवातसँगै महोत्तरीसहित समग्र मिथिला क्षेत्रका गाउँबस्ती र सहरबजारमा विशेष चहलपहल र रौनक छाएको छ।

चार दिनसम्म मनाइने यस पर्वका अवसरमा घरघरमा सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने पारम्परिक लोकगीतहरू गुञ्जिन थालेका छन्, जसले सिङ्गो मिथिलाको वातावरणलाई भक्तिमय बनाएको छ।

छठघाट सजावटमा युवाको सक्रियता, घरआँगन लिपपोत

पर्वको तयारीस्वरूप स्थानीयवासी नदीकिनार, पोखरी, तलाउ तथा धार्मिक महत्त्वका जलाशयहरूमा छठघाट निर्माण, सरसफाइ र झिलिमिली सजावटमा जुटेका छन्। विशेषगरी स्थानीय युवाहरू घाटको सरसफाइ, पण्डाल निर्माण र विद्युतीय बत्ती जडानमा सक्रिय देखिएका छन्।

यसैगरी, गाउँघरमा बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ताहरूलाई परम्परागत शैलीमा माटोले लिपपोत तथा रङरोगन गरेर चिटिक्क पारिएको छ। सडक, चोक र सार्वजनिक स्थलहरू झिलिमिली बत्तीले सजाइएका छन्। बर्दिबास–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोका अनुसार अहिले गाउँबस्तीमा भेटघाट, कुराकानीदेखि सम्पूर्ण घरायसी कामकाज छठकै तयारीमा केन्द्रित हुन थालेको छ।

बजारमा माटाका भाँडा, बाँसका सामग्री र फलफूलको व्यापार चम्कियो

छठ पर्वमा नयाँ र शुद्ध भाँडाकुँडामा पूजासामग्री राख्ने परम्परा रहेकाले मिथिला क्षेत्रका हाटबजारहरूमा किनमेल गर्नेहरूको ठुलो भीड लागेको छ। विशेष गरी बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री ह्वात्तै बढेको छ। यस्तै, बत्ती बाल्ने दियो, दही जमाउने छ्याँची, पूजासामग्री राख्ने टौला, अङ्खरा र गाग्री लगायत माटाका भाँडाको माग उच्च छ।

जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीका अनुसार बजारमा केराका घरीको बिक्री बढेको छ भने स्थानीय किसानहरूले पूजामा प्रयोग हुने उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मूला, ज्यामिर र जटासहितका नरिवल जस्ता कृषि उपजहरू बजारमा ल्याउने तयारी गरेका छन्। यस्ता सामग्रीको मुख्य कारोबार भोलि शनिबार हुनेछ।

ढिकी–जाँतोको प्रयोग र शुद्धताको नियम

छठ पर्वमा शुद्धता र पवित्रतालाई सर्वोपरि मानिन्छ। घरघरमा गृहिणीहरू छठको मुख्य प्रसाद 'ठकुवा' र 'भुसुवा' तयार गर्न व्यस्त छन्। चामल र गहुँको पिठो बाहिर मिलमा नपिँधी घरमै ढिकी र जाँतोमा कुट्ने तथा पिँध्ने मौलिक परम्परा अझै कायम छ। भङ्गाहा–४ रामनगरकी ५५ वर्षीया शान्तिदेवी साह भन्नुहुन्छ, “छठको तयारीमा निष्ठा र शुद्धता नै सबैभन्दा महत्त्वपूर्ण पक्ष हो, परिवारका सबै सदस्य मिलेर पवित्र मनले प्रसाद तयार गर्छौँ।”

यस्तो छ चार दिने छठको कार्यतालिका

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वका मुख्य विधिहरू यस प्रकार छन्:

  • पहिलो दिन (आज चतुर्थी): व्रतालुले स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गर्ने ‘नहाय–खाय’ विधि।
  • दोस्रो दिन (शनिबार पञ्चमी): दिनभर उपवास बसी साँझ सख्खर, दूध र चामलको खीर (रसियाव) पकाई देवीलाई चढाएर खाने ‘खरना’ विधि।
  • तेस्रो दिन (आइतबार षष्ठी): साँझपख परिवारसहित जलाशय (छठघाट) मा गई अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने मुख्य दिन।
  • चौथो दिन (सोमबार सप्तमी): बिहान सबेरै घाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिपूर्वक छठ पर्व समापन हुन्छ।

समाजमा रहेका पुराना मनमुटाव बिर्सेर तथा जातीय एवं वर्गीय विभेद अन्त्य गरी धनी–गरिब सबै एकै लहरमा बसेर सूर्यदेवको आराधना गर्ने भएकाले छठ पर्वलाई सामाजिक सद्भाव र एकताको अनुपम नमुनाका रूपमा लिइन्छ।

शुक्रबार​ २८ कात्तिक २०८३ ०९:०० AM मा प्रकाशित

प्रतिक्रिया