काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले दुईदिने भेलाको तयारी सकिएको जानकारी दिएका हुन् ।
काठमाडौँको माइतीघरमा आयोजना हुने उक्त भेलाको उद्घाटन मङ्सिर २ गते बिहान ११:०० बजे पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिअनुसार, गत २०८३ असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका ‘दुई प्रमुख कार्यभार र गर्नुपर्ने पन्ध्र काम’ लाई एकजुट भई कार्यान्वयन गर्ने तथा जनतासमक्ष प्रभावकारी रूपमा सम्प्रेषण गर्ने भेलाको मुख्य ध्येय रहेको छ ।
यसैगरी, आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्ने, पार्टीपङ्क्तिमा वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ बनाउने र मुलुकमा देखिएको कुशासन तथा निराशालाई चिर्दै नयाँ आशा र ऊर्जा सञ्चार गर्ने उद्देश्यका साथ भेला आयोजना गरिएको एमालेले स्पष्ट पारेको छ ।
महाधिवेशनभन्दा ठूलो सहभागिता
सङ्ख्यात्मक हिसाबले महाधिवेशनभन्दा पनि ठूलो मानिएको यस राष्ट्रिय भेलामा कुल ३ हजार ४१४ जनाको सहभागिता रहनेछ । एमालेको सङ्गठनात्मक इतिहासमा पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्वसम्म र स्थानीय तहदेखि सङ्घीय संसद्सम्मका जनप्रतिनिधिहरू एउटै मञ्चमा भेला हुन लागेको यो विशेष अवसर हो ।
भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, प्रवाससहित प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरू तथा पालिका कमिटीका अध्यक्ष र उपाध्यक्षहरू सहभागी हुनेछन् । यस्तै, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरूका साथै जनसङ्गठनका प्रतिनिधि र स्वयंसेवकहरूको उपस्थिति रहनेछ ।
शीर्ष नेताहरूको विशेष सम्बोधन र कार्ययोजना
भेलालाई अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको आगामी कार्यदिशा तथा ‘दुई प्रमुख कार्यभार र पन्ध्र काम’ का विषयमा वैचारिक मार्गदर्शन गर्नेछन् ।
त्यस्तै, भेलामा पार्टीका अन्य शीर्ष नेताहरूले विभिन्न विषयमा सम्बोधन तथा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ:
आवास र सुरक्षा व्यवस्थापन
भेलामा सहभागी हुने प्रतिनिधिहरूले काठमाडौँमा रहँदा आ–आफ्नो आवासको व्यवस्था स्वयंले गर्नुपर्ने पार्टीले जनाएको छ । भेला सञ्चालनका लागि हल व्यवस्थापन र आन्तरिक सुरक्षा प्रबन्धलाई चुस्त बनाइएको प्रचार विभाग प्रमुख आचार्यले बताए । भेला स्थल र सहभागीहरूको सुरक्षा व्यवस्थापनका लागि अवकाशप्राप्त सहायक रथी विनोद पाण्डेको नेतृत्वमा १०० जना स्वयंसेवक परिचालन गरिएको एमालेले जानकारी दिएको छ ।
प्रतिक्रिया