×

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले फिर्ता पठाए

images

काठमाडौँ- राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएको छ। अध्यादेशको विषयवस्तुका विषयमा पुनर्विचार गर्न भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश फिर्ता पठाएका हुन्।

लोकतान्त्रिक मान्यता, संविधानको आधार र बहुमतीय प्रतिस्पर्धालाई ध्यानमा राख्दै पुनर्विचार गर्न सरकारसमक्ष अध्यादेश फिर्ता पठाइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनले संविधानको पालना गर्दै लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिन राष्ट्रपति पौडेलले अध्यादेश फिर्ता पठाएको बताए।

राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको, यसअघि पनि मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश जारी नगरेको प्रसंग पनि स्मरण गराएका छन्।

केपी शर्मा ओली नेतृत्वको सरकारले गत वर्ष असार २५ मा प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपति पौडेलले सन्देशसहित फिर्ता पठाएका थिए।

त्यस्तै तत्कालीन मन्त्रिपरिषद्को मिति २०८२/०८/०२ को निर्णयबमोजिम प्राप्त भएको संवेधानिक परिषदसम्बन्धी अध्यादेश, २०८२ उनले जारी गरेका थिएनन्।

आइतबार​ २० बैशाख २०८३ ०८:३२ PM मा प्रकाशित

प्रतिक्रिया