×

बारा अस्पताल झडप अपडेट: गोली चलेको प्रहरीद्वारा पुष्टि, घाइते आदित्यको नारायणी अस्पतालमा उपचार हुँदै, ३८ कर्मचारीको उद्धार

images

बारा (ई-सञ्चारपाटी) ।
बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच भएको उग्र झडप र आगजनीको घटनामा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको आधिकारिक पुष्टि गरेको छ। शनिबार बिहान १०:३० बजेदेखि सुरु भएको विवादले उग्र रूप लिएपछि उत्पन्न परिस्थितिलाई काबुमा लिन प्रहरीले बल प्रयोग र हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उद्घाटनका लागि टेन्ट बनाउने काममा खटिएका स्थानीय १८ वर्षीय आदित्य पासवानको पेटमा गोली लागेको छ। उनी फेटा–३ का धर्मेन्द्र पासवानका छोरा हुन्। सुरुमा वीरगन्ज हेल्थ केयर लगिएका उनलाई थप उपचारका लागि वीरगन्जकै नारायणी अस्पताल मा भर्ना गरिएको छ र उनको अवस्था गम्भीर तर स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ। झडपका क्रममा प्रहरीको लाठीचार्जबाट अर्का स्थानीय ५५ वर्षीय लालबाबु साहको टाउकोमा गम्भीर चोट लागेको छ भने अन्य कयौँ प्रदर्शनकारीहरू समेत घाइते भएका छन्। 

गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र विपक्षी समूहबीच विवाद चर्किएपछि आक्रोशित स्थानीयको भिडले अस्पतालको मुख्य भवन घेराउ गरी कर्मचारीहरूलाई बन्धक बनाएका थिए। घटना लगत्तै खटिएको थप सुरक्षा टोलीले स्वास्थ्य चौकी भवनभित्र झन्डै दुई घण्टादेखि थुनिएका एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित ३८ जना सरकारी कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको छ। 

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार सो क्षेत्रमा थप झडप हुन नदिन व्यापक रूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (APF) परिचालन गरिएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले फेटा क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) जारी गर्ने तयारी गरिरहेको छ। 

शनिबार १५ कात्तिक २०८३ ०२:३९ PM मा प्रकाशित

प्रतिक्रिया