काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सांगठनिक संरचनालाई थप विस्तार र व्यवस्थित गर्ने उद्देश्यले विभिन्न उपसमितिहरू गठन गरेको छ। साथै, पार्टीले आगामी राजनीतिक तथा चुनावी गतिशीलतालाई मध्यनजर गर्दै वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवार बन्न चाहने इच्छुक व्यक्तिहरूका लागि आवेदन खुला गरेको छ।
पार्टीलाई थप प्रभावकारी बनाउन र विभिन्न विभागहरूको कार्यभारलाई सहज पार्न रास्वपाले केन्द्रीय स्तरमा विभिन्न उपसमितिहरू गठन गरेको छ। पार्टीका अनुसार यस कदमले नीतिगत बहस, सांगठनिक गतिविधि र जनसम्पर्कलाई अझ तीब्र पार्न मद्दत पुग्नेछ। गठन गरिएका उपसमितिहरूले सम्बन्धित क्षेत्रका एजेन्डामाथि केन्द्रित रहेर काम गर्नेछन्।
जसमा क्यान्डिडेट क्लबको संयोजकत्व कविन्द्र बुर्लाकोटी, प्रविधिको सुशान्त वैदिक, गुनासो समन्वयको जनकसिंह धामी, समावेशिता तथा महिला सहभागिताको डा. तोशिमा कार्की, क्षमता विकास समन्वयको टासी ल्हाजोम, व्यवस्थापनको रहबर अनसारी र प्रचारप्रसार उपसमितिको संयोजकत्व मिलन लिम्बूले सम्हाल्ने भएका छन्।
यसैगरी, बैठकले महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदहरूमा रास्वपाका तर्फबाट उम्मेदवारी दिन इच्छुक र योग्य व्यक्तिहरूका लागि ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णयसमेत गरेको पार्टीका प्रवक्ता जगदिश खरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
तल्लो तहदेखि नै सक्षम र योग्य नेतृत्व चयन गर्ने नीतिकै निरन्तरतास्वरूप रास्वपाले वडा तहमा उम्मेदवार बन्न चाहने योग्य तथा इमानदार नागरिकहरूलाई लक्षित गर्दै आवेदन प्रक्रिया सुरु गरेको छ। पार्टीले वडाध्यक्ष र वडा सदस्यका लागि इच्छुक पार्टी सदस्य तथा शुभचिन्तकहरूबाट दरखास्त आह्वान गरेको हो।
पार्टीको यो निर्णयसँगै राजनीतिमा नयाँ र व्यावसायिक नेतृत्व ल्याउने अभियानलाई थप टेवा पुग्ने विश्वास गरिएको छ। आवेदन दिने प्रक्रिया र यससम्बन्धी विस्तृत मापदण्ड पार्टीको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ।
प्रतिक्रिया