×

शपथ ग्रहणलगत्तै नेपाली कांग्रेसको विशेष बैठक बस्दै, नयाँ रणनीति र कार्ययोजना तय गरिने

images

काठमाडौँ (ई-सञ्चारपाटी) । नेपाली कांग्रेसको विशेष बैठक आज बस्ने भएको छ। १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको शपथ ग्रहण र पदबहाली लगत्तै पार्टी सञ्चालनलाई गति दिन र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा विशेष बैठक आह्वान गरिएको हो।

बैठकमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूका लागि कार्यविभाजन, संगठनात्मक सुदृढीकरण र आगामी दिनमा पार्टीले लिने रणनीतिका विषयमा सघन छलफल हुने बुझिएको छ। नवगठित कार्यसमितिको यो पहिलो औपचारिक र विशेष बैठक भएकाले यसलाई कांग्रेस वृत्तमा नयाँ कार्यदिशा तय गर्ने महत्त्वपूर्ण खुड्किलोका रूपमा हेरिएको छ।

९४ प्रतिशतको ऐतिहासिक मतसहित निर्वाचित हुनुभएका पार्टी सभापति गगन थापाले बैठकमा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। सभापति थापाले मुलुकको विद्यमान सुशासनको अवस्था, आर्थिक संकट समाधानका उपाय, संसद्मा पार्टीको भूमिका र जनतामा व्याप्त निराशा चिर्ने ठोस कार्ययोजनाबारे आफ्नो धारणा राख्नुहुनेछ। विशेष गरी पछिल्लो समय पत्रकार पक्राउ प्रकरण, राज्य संयन्त्रमाथि उठेका प्रश्न र दलीय वरीयताका विषयमा कांग्रेसले लिने आधिकारिक अडानबारे सभापति थापाले प्रष्ट पार्ने स्रोतले जनाएको छ।

बैठकमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष पदाधिकारीहरूले समेत पार्टीलाई थप जिम्मेवार, परिणाममुखी र जनमुखी बनाउने विषयमा आफ्नो धारणा प्रस्तुत गर्नेछन्।

आइतबार​ १६ कात्तिक २०८३ ०८:३९ AM मा प्रकाशित

प्रतिक्रिया