×

इन्द्रसरोवरमा पानीको सतह खतराको विन्दु नजिक: कुलेखानीको बाँध जुनसुकै बेला खोलिन सक्ने, तटीय क्षेत्रमा हाइअलर्ट

images

काठमाडौँ (ई-सञ्चारपाटी) ।
लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी (इन्द्रसरोवर) जलविद्युत आयोजनाको जलाशय (ड्याम) भरिन थालेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जलाशयमा पानीको सतह खतराको विन्दु नजिक पुगेकाले प्राविधिक व्यवस्थापनका लागि जुनसुकै बेला पनि बाँधको ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्रशासनले सचेत गराएको हो।

कुलेखानी जलविद्युत केन्द्रका अनुसार जलाशयको जलसतह समुद्री सतहबाट १ हजार ५२५ देखि १ हजार ५३० मिटरसम्म पुग्नुलाई पूर्ण मानिन्छ। वर्षात्‌को पानी निरन्तर थपिने क्रम जारी रहेकाले बाँधको सुरक्षाका लागि पानीको निकास दिनुपर्ने सम्भावना बढेको छ। 

जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ । जलाशयको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर हो । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयको सतह तीव्र गतिमा बढिरहेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह केही घण्टामै एक हजार ५२८ मिटर नाघ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

साथै, उनले नदीकिनारबाट टाढा अग्लो र सुरक्षित स्थानमा बस्न तथा आयोजनाबाट जारी सूचना र मोबाइलमा प्राप्त हुने एसएमएसमा उल्लेखित निर्देशन पालना गर्न अनुरोध गरेका छन् ।

बाँधको ढोका खोलिएमा कुलेखानी खोला हुँदै बागमती नदीमा पानीको बहाव अत्यधिक बढ्ने छ। जसका कारण मकवानपुरको भीमफेदी, इन्द्रसरोवर, बागमती गाउँपालिका तथा सिन्धुली, रौतहट र सर्लाहीका बागमती नदी किनारका तल्लो तटीय क्षेत्रका बस्तीहरू प्रभावित हुन सक्ने जोखिम रहन्छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै नदी किनार आसपास बस्ने नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र नदीमा माछा मार्ने, पौडी खेल्ने वा काठ दाउरा सङ्कलन गर्ने जस्ता कार्य नगर्न आग्रह गरेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय सुरक्षा निकाय, विपद् व्यवस्थापन टोली र प्राविधिकहरूलाई ‘अलर्ट’ अवस्थामा राखिएको छ।

शनिबार १५ कात्तिक २०८३ ०२:१९ PM मा प्रकाशित

प्रतिक्रिया