काठमाडौँ (ई-सञ्चारपाटी) ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पत्रकार पक्राउ प्रकरणलाई लिएर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि गम्भीर प्रश्न उठाएका छन्। न्युजरुमबाटै पत्रकार पक्राउ गरिएको घटनालाई रास्वपाले ‘गैरकानुनी’ भन्दै विज्ञप्ति जारी गरेपछि महामन्त्री शर्माले सरकारमै रहेको दलले केवल वक्तव्य निकालेर मात्र आफ्नो दायित्वबाट पन्छिन नमिल्ने टिप्पणी गरेका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले प्रश्न गरेका छन्, "गिरफ्तारी गैरकानुनी भनिराखेर मात्रै सरकार बनाउने पार्टीको दायित्व सकिन्छ कि त्योभन्दा पर गैरकानुनी धन्दा नियन्त्रणमा उसको हैसियतलाई सरकारले सुन्छ र मान्छ पनि?" उनले गैरकानुनी कर्मको निरन्तरता कुनै एउटा घटना मात्र नभएर प्रवृत्ति बन्दै गइरहेको भन्दै यस्तो अवस्थामा सत्तारूढ पार्टीको घोषणापत्रमा लेखिएको प्रेस स्वतन्त्रताको रक्षा सरकारले गर्छ कि गर्दैन भन्दै रास्वपाको हैसियतमाथि नै प्रश्न गरेका छन्।
स्पष्टीकरण दिएर सरकार उम्किन पाउँदैन
सञ्चारगृहभित्रै प्रहरी छिरेर पत्रकार समात्दा प्रधानमन्त्री कार्यालयले आफ्नो संलग्नता नरहेको भनी दिएको स्पष्टीकरणप्रति पनि शर्माले आपत्ति जनाएका छन्। "प्रश्न प्रधानमन्त्री कार्यालय संलग्न थियो कि थिएन भन्ने होइन," शर्माले लेखेका छन्, "प्रश्न मुलुकको चौथो अङ्गमाथि यस्ता हर्कत हुँदा सरकार ‘सरकारका रूपमा’ देखिने, भेटिने कि स्पष्टीकरण दिएर पन्छिने भन्ने हो।"
महामन्त्री शर्माले पक्राउ परेका पत्रकारहरू रिहा हुँदैमा मात्र सरकारको गैरकानुनी धन्दा र प्रवृत्तिको बदनामी नसकिने भन्दै स्वतन्त्र तर मर्यादित प्रेसको रक्षाका लागि सरकार जबाफदेही बन्नुपर्ने माग गरेका छन्।
प्रतिक्रिया