काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १ रुपैयाँले मूल्य बढाइएको छ।
यस्तै निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ३ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २२ डलरका दरले घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।
नयाँ मुल्यअनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५६.५०, दोस्रोमा १५८ र तेस्रोमा १५९ रुपैयाँ भएको छ भने डिजेल/मट्टितेल पहिलो वर्गमा १४०.५०, दोस्रोमा १४३ र तेस्रोमा १४३ रुपैयाँ भएको छ।
प्रतिक्रिया