×

समानुपातिकतर्फ १ करोड मतगणना गर्दा थ्रेसहोल्डको नजिक नेकपा एस

images

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मतगणना अन्तिम चरणमा छ । तीन स्थानबाहेक मतगणना करिब सम्पन्न भइसकेको छ । त्यस्तै, समानुपातिकतर्फ पनि गणना अन्तिम अवस्थामा  पुगेको छ । हालसम्म १ करोड १ लाख ९ हजार ७७४ मतगणना भएको छ ।

निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब ८ लाख मतगणना बाँकी रहेको देखिएको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर अग्रता लिइरहेको छ । हालसम्म उक्त दलले २७ लाख ६ हजार ३७१ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ लाख ६९ हजार ४९४ मतसहित दोस्रो स्थानमा रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ११ लाख ४७ हजार ७२१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९९ हजार ७९०, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७२ हजार३३१, जनता समाजवादी पार्टी नेपालले ४ लाख ८ हजार ८०२ र जनमत पार्टीले तीन लाख ७६ हजार १३६मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । सुनसरी क्षेत्र नं ४, स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आइसकेपछि आयोगले ‘सेन्ट लग’ सूत्रअनुसार दलहरूले बुझाएको अन्तिम बन्द सूचीबाट समानुपातिकमा पाउने स्थान (सङ्ख्या) निर्धारण गर्नेछ । दोलखाका १० मतदान केन्द्रमा यही मङ्सिर १५ गते पुनः मतदान हुँदैछ भने स्याङ्जा र बाजुराको मतगणना गर्न निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

प्रतिनिधिसभामा १० सिट जितेको नेकपा एकीकृत समाजवादीले दुई लाख ८६ हजार १२० मत पाएको छ । सो पार्टीले ३ प्रतिशतको थ्रेसहोल्ड काट्ने प्रयासमा रहेको छ । सो पार्टीले थ्रेसहोल्ड काट्यो भने राष्ट्रिय पार्टीको मान्यतासहित केही समानुपातिक सिटसमेत पाउनेछ ।

राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ ।

बुधबार १४ मंसिर २०७९ ०३:३८ PM मा प्रकाशित

प्रतिक्रिया