×

भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका मेयर बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय

images

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई घुस लिएबापत ८ वर्ष र मेयर जस्तो ओहोदामा बसेका कारणले थप ३ महिनाको कैद सजाय सुनाएको हो । सोमबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई प्रमुख जस्तो ओहोदामा बहाल रही उक्त कसूर गरेको देखिन आएकोले थप तीन महिना समेत कैद सजाय हुने ठहर गरेको फैसला गरेको हो।

‘मोहन बहादुर बस्नेत तथा राजु प्रसाद कँडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम जनही ८ (आठ) वर्ष कैद सजाय हुने ठहर्छ,’ विशेष अदालतको आदेशमा भनिएको छ,  ‘सोको अतिरिक्त नगरपालिकाको प्रमुख जस्तो ओहोदामा बहाल रही उक्त कसूर गरेको देखिन आए‌कोले ऐ. ऐनको दफा २४ बमोजिम ३ (तीन) महिना थप कैद सजाय समेत हुने ठहर्छ।’

प्रतिवादी मोहन बहादुर बस्नेत र घुस दिने पद्मा कोलोनी प्रा.लि., पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. र सो कम्पनीको अध्यक्ष/संचालक राजु प्रसाद कँडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जनही २ करोड ३० लाख ६१ हजार ५ सय आठ रुपैयाँ आठ पैसा जरिवाना हुने समेत फैसला गरेको छ। 


बस्नेतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस १४ गते मुद्दा दायर गरेको थियो ।

यस्तै बस्नेतलाई १ करोड ५ लाख रुपैयाँ र पद्मा कोलनीका सञ्चालक कँडेललाई ९ लाख २२ हजार रुपैयाँ पीडित राहत संकलन कोषमा भराउने फैसला समेत अदालतले गरेको छ ।

उक्त मुद्दामा बस्नेतसहित कँडेल पनि दोषी ठहर भएका थिए । अदालतले निलम्बित मेयर बस्नेतकी श्रीमती उर्मिलालाई भने सफाइ दिएको छ ।

सोमबार १६ असार २०८२ ०८:१५ PM मा प्रकाशित

प्रतिक्रिया