काठमाडौं । ज्यानसम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतले दोषी ठहर गरेको नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई कारबाहीको माग गर्दै न्याय परिषद्मा उजुरी परेको छ । युवराज पौडेल सफलले न्यायाधीशद्वय थारु र महर्जनविरुद्ध उजुरी दर्ता गराएका हुन् ।
उजुरीकर्ताले न्यायाधीशद्वयलाई तत्काल निलम्बन गरी आलमलाई उन्मुक्ति दिइएको मिसिल झिकाएर न्यायिक परीक्षणको माग गरेका छन् । ‘पीडितलाई नै अन्याय हुनेगरी आदेश गर्ने उल्लेखित न्यायाधीशद्वय थारु र महर्जनले हालसम्म जिल्ला अदालत वा उच्च अदालतमा रहँदा गरेका न्याय सम्पादनका कार्य एवम् निजहरुले गरेका आदेशहरुसमेत परीक्षण गर्न र उल्लेखित न्यायाधीशहरुलाई तत्काल निलम्बन गर्न एवम् न्याय परिषद् सचिवालय ऐन बमोजिम अन्य विभागीय कारवाही गर्न माग गर्दै प्रस्तुत उजुरी पेश गरेको छु,’– उनले दर्ता गराएको उजुरीमा भनिएको छ ।
गत २०६४ संविधान सभाको निर्वाचनको बेला उनले २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको आरोप थियो । २०७६ कात्तिक २९ मा जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएकोमा न्यायाधीश मातृका प्रसाद आचार्यको एकल इजलासले प्रतिवादी आलमलगायतलाई जन्मकैदको सजाय सुनाएको थियो । जिल्ला अदालतको उक्त आदेश उच्च अदालतले उल्ट्याइदिएपछि सो विषयमा अहिले विभिन्न टीकाटिप्पणी सुरु भएको छ ।
प्रतिक्रिया