×

हामीविरुद्ध घेराबन्दी छ, सरकारबाटै नयाँ जनयुद्ध सुरुआत गरेको छु : प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं-  प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन्। साथै उनले सत्ता गठबन्धनलाई तोड्न धेरै कसरत भइरहेको दाबी गरे।

तर सरकारविरुद्ध जति षड्यन्त्र गर्छन्, त्यति उनीहरु जनताको नजरमा गिर्दै जाने उनको दाबी छ ।  मंगलबार बिहान राष्ट्रिय सभागृहमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले माओवादी रूपान्तरण अनिवार्य शर्त भएको बताएका हुन्। प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘यो गठबन्धन तोड्ने धेरै कसरत छन्, तर कसेको केही लाग्ने मैले देखेको छैन ।’

ठूलो दुर्घटना भएन भने यो गठबन्धन ५ वर्ष जाने उनको दाबी छ । उनले अघि भने, ‘गठबन्धन तोड्न जति बल गर्छन्, त्यति नै जनताको नजरमा गिर्दै जाने छन् ।’ उनले माओवादीको शक्ति कमजोर हुनासाथ प्रतिक्रियावादीले के के गर्छन् भन्ने देखिएकाले आफू शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि अग्रसर भएको बताए । उनले आफूमाथि मात्रै जनयुद्धकालीन ३६ वटा मुद्दा रहेको भन्दै माओवादी कमजोर हुनासाथ मुद्दाहरू थपिने दाबी गरे ।

प्रधानमन्त्रीले भने- माओवादी कमजोर हुने बित्तिकै प्रतिक्रियावादीहरुले के के गर्छन् तपाईँहरूले देखिरहनुभएको छ । हामीमाथि सयौँ मुद्दाहरू छन् । ममाथि मात्रै ३६ वटा मुद्दा छन्,हिजो आज मात्र २ वटा मुद्दा हालेका छन्,हामी फेरि एकजुट भयौँ भनेपछि अहिले ती थाती छन् । साथै प्रचण्डले नक्कली भुटानी शरणार्थी, सुन तस्करी प्रकरणलगायत भ्रष्टाचारविरुद्ध अभियान अघि बढाएपछि आफूहरूविरुद्ध घेराबन्दी भइरहेको बताएका छन्। साथै प्रचण्डले आफूहरूविरुद्ध कुप्रचार भइरहेको बताएका हुन्। 

तर ती प्रकरणविरुद्धका अनुसन्धान नरोकिने, बरु तीव्र हुने उनको दाबी छ।  ‘नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ। यो यहीँ रोकिनेवाला छैन’, प्रधानमन्त्रीले प्रचण्डले भने, ‘भ्रष्टाचारविरुद्धको अभियान थप तीव्र भएर जान्छ। हामीविरुद्ध घेराबन्दी छ, अनेकौँ कुप्रचार छ। तर, हामी दृढताका साथ नै अघि बढ्छौँ।’ प्रचण्डले माओवादी कार्यकर्ताहरूको शीर उँचो राख्न आफूले यस पटक सरकारमा बसेर नयाँ खालको जनयुद्ध थालेका बताए । उनले अब तीन महिनापछि माओवादी नयाँ ढंगले बलियो भएर आउने आशा समेत व्यक्त गरे ।

उनले भने- माओवादी हौँ भन्न पनि कता कथा अप्ठेरो मान्ने अनि हाम्रा दुश्मन परिवर्तनका विरोधीहरूले हुंकार गर्ने अवस्थाको अन्त गर्न नयाँ जनयुद्धको सुरुआत गरेको छु । यो जनयुद्धमा हिंसा हुँदैन,हतियारको प्रयोग हुँदैन तर यो जनयुद्ध नै हो । यसको सुरुआत लिडरशीपबाटै हुनुपर्‍यो भनेर गरिएको छ । यसले लाखौँ करोडौँ जनताको मत जित्ने पनि छ ।

प्रधानमन्त्रीले भने, 'परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न सक्दैन। यसमा गुणात्मक रूपान्तरण जरुरी छ। असफल भएको विकास मोडललाई हामीले सधैँ बोकेर हिँड्न सक्दैनौँ। अर्को बजेटसम्म आउँदा हामी नयाँ अर्थनीति र योजनाका साथ अगाडि जान्छौँ।'

'नेपालको हितका निम्ति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरिएको छ। त्यसको नतिजा क्रमशः आउनेछन्' प्रधानमन्त्री प्रचण्डले भने, 'कूटनीतिमा वर्तमान सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छटपटी सुरु भएको छ। १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता सानो कुरा होइन। यी कामलाई तपाईहरूले जनताको बीचमा लैजानुस्।' 

मङ्गलबार १२ भदौ २०८० ११:२७ AM मा प्रकाशित

प्रतिक्रिया