काठमाडौं। नेपालले एसीसी पुरुष यू–१६ इस्टो जोन कप प्रतियोगिताको तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले पराजित गरेको छ। सेलानगोर मलेसियामा आइतबार भएको खेलमा कप्तान विपिन शर्माले ६ विकेट लिँदा नेपालले लगातार तेस्रो जित दर्ता गरेको हो।
नेपालले दिएको ४ सय २१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसियाले २४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ५० रन बनायो। नेपालका लागि बलिङतर्फ विपिनले सर्वाधिक ६ विकेट लिए। ७ ओभर ३ बलिङ गरेका उनले २ मेडन ओभर फाल्दै १२ रन खर्चे।
नेपालका लागि प्रसिद्धले १ सय ३२ रनको शतकीय पारी खेले। १ सय १४ बल खेलेका उनले १५ चौका र १ छक्का प्रहार गरे। त्यस्तै परिमार्जन यादव, रौनक श्रीवास्तव र जोय थापाले अर्धशतकीय पारी खेले। परिमार्जनले २८ बलमा ७१ रन बनाउँदा रौनकले ७१ बलमा ८८ र जोयले ४१ बलमा ५७ रन बनाए।
नेपालका सुगम बुढाथोकीले ३९ रनको योगदान गरे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय २० रन बनाएको थियो। आजको खेलमा जित निकाल्दै नेपाल ३ खेलबाट ६ अंक जोडेर समूह ‘ए’ तालिकाको शीर्ष स्थानमा उक्लेको छ।
प्रतिक्रिया