काठमाडौं। नेकपा एमाले गणतन्त्रको उत्सव मनाउने र राजवादीहरुले राजा फर्काउने अभियानको कार्यक्रम एकै स्थान रत्नपार्कमा प्रदर्शन गर्दै छन्। तर एमालेले कार्यक्रम गरिसकेपछि राजसंस्थावादी समूहले प्रदर्शन गर्ने सहमति भएको छ।
जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले एमालेले गर्ने गणतन्त्र उत्सवको कार्यक्रम दिउँसो २ बजेसम्ममा सक्ने र त्यसपछि राजावादीले सोही स्थानमा कार्यक्रम गर्ने सहमति गराएको हो।
पूर्वपञ्च नवराज सुबेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिको अगुवाइ र सबै राजावादी नेताहरुको समेत सहभागीमा प्रर्दशन हुँदैछ। राजावादीहरुले पनि उपत्यका बाहिरबाट समेत मानिसहरू ल्याएर काठमाडौंमा शक्ति प्रदर्शन गर्ने र आन्दोलनलाई काठामाडौं केन्द्रित गर्दैछन्।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राजवादीहरूले बिहीबार बिहान ११ बजे विभिन्न ठाउँबाट निस्केर दिउँसो एक बजे रत्नपार्कमा जम्मा हुने कार्यक्रम तय गरेका छन्। श्रेष्ठले रत्नपार्कमा आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिएको बताए।
‘सभा गर्न लागिएको भए जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्थ्याे। हामीले आन्दोलन गर्न लागेका हौं। आन्दोलन गर्नका लागि अनुमति लिनुपर्दैन,’ उनले भने।
उनका अनुसार बिहीबारदेखि सुरु हुने भनिएको आन्दोलन शान्तिपूर्ण हुनेछ। सरकारले भने राजावादीहरूलाई बिहीबार काठमाडौंको चक्रपथबाट भित्र छिर्न नदिने तयारी गरेको छ।
राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन निरन्तर जारी राख्ने उनीहरूको धम्की र सरकारमा रहेको एमालेको प्रर्दशनले मुठभेड निम्त्याउन सक्ने संभावना रहेको भन्दै सुरक्षा अंगले विशेष सजकता अपनाएको छ।
चैत १५ गते राजावादी समूहले गरेको हिसात्मक प्रर्दशनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले विशेष सजकता अपनाएका हुन्। यो विषयमा बुधबार विहान उपत्यका प्रहरी कार्यालयले सबै यूनिटलाई सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न निर्देशन दिएको छ।
नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार बिहान उपत्यका प्रहरी कार्यालय मातहतका सबै कार्यालयका प्रमुखलाई बोलाएर सो निर्देशन दिएका हुन्। कार्यक्रममा काठमाडौं प्रहरी प्रमुख, ललितपुर प्रहरी प्रमुख र भक्तपुर प्रहरी प्रमुखहरुलाई चैत १५ नदोहोरियोस भन्ने निर्देशन दिएका थिए।
यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, विमानस्थल सुरक्षा कार्यालयका प्रमुख र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख पनि छलफलमा सहभागी गराइएको थियो।
कार्यक्रममा एआईजी टेकबहादुर तामाङले काठमाडौं उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्र पङ्त्तिमा खटिने प्रहरी कर्मचारीलाई सामूहिक भावनाका साथ ऐक्यवद्ध भई उच्च मनोबलका साथ पूर्ण व्यवसायिक तवरले काम गर्न निर्देशन दिएका थिए।
बल प्रयोग गर्नुपर्ने अवस्थामा अबलम्बन गर्नु पर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको ख्याल गर्न पनि तामाङले इन्चार्जहरुलाई निर्देशन दिएका छन्। यसअघि चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेको थियो। त्यतिबेला प्रहरीको भूमिकामा प्रश्न उठेको थियो।
प्रहरीले गलत समयमा बल प्रयोग गरेको र जतिबेला क्षति भयो त्यसलाई रोक्न नसकेको भन्दै आलोचना भएको थियो। जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको बैठक बसेको छ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाले सुरक्षा व्यवस्था कडा भएको बताए। ‘काठमाडौको तथा देशभरको सुुरक्षामा नेपाल प्रहरीले ध्यान दिएको छ, सुरक्षा व्यवस्था कडा छ’, एसएसपी थापाले भने।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पनि पार्टी पङ्तिलाई गणतन्त्र दिवस मनाउन सडकमा आउन निर्देशन दिएका थिए। उनले त्यस दिन काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएपछि विपक्षीहरुले आलोचना समेत गरेका छन्।
यो अभिव्यक्तिले एमाले र राजावादीबीच मुठभेड हुनसक्ने संभावना समेत रहेकोमा सुरक्षा निकाय थप सजक भएको हो। बिहीबार काठमाडौंमा हुने दुई समूहको प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था मिलाउन उपत्यकाका सबै प्रहरी इन्चार्जलाई निर्देशन दिइएको छ।
प्रतिक्रिया