×

'बोल्यो कि पुर्जी, बोल्यो कि गिरफ्तारी': सरकारको निरंकुश शैलीविरुद्ध आन्दोलनका लागि तयार रहन ओलीको निर्देशन

images

काठमाडौँ, कात्तिक ११ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको गम्भीर आरोप लगाएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित नवमनोनीत तीनजना केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले मुलुकलाई हालको जटिल अवस्थाबाट पार लगाउन अब सशक्त आन्दोलनको विकल्प नरहेको घोषणा गरे। 

अध्यक्ष ओलीले देशमा नागरिक तथा राजनीतिक स्वतन्त्रता कुण्ठित गरिएको दाबी गर्दै नेता–कार्यकर्ताहरूलाई आन्दोलनका लागि मानसिक र सांगठनिक रूपमा तयार रहन निर्देशन दिएका छन्।

मुलुक अहिले सिङ्गो राज्यका रूपमा स्वतन्त्रताको उपभोग गर्न नसक्ने कठिन अवस्थामा पुगेको ओलीले टिप्पणी गरे। उनले देशमा कसैले पनि खुलेर बोल्न नसक्ने गरी राज्य आतंक सिर्जना गरिएको, चौतर्फी रूपमा गुण्डाराज चलिरहेको र सरकार पूर्ण रूपमा बेलगाम फाँसीवादको बाटोमा हिँडिरहेको आरोप लगाए। देशको वर्तमान अवस्थालाई थप बिग्रिनबाट जोगाउन आन्दोलनको बाटो रोज्नुपर्नेमा उनले जोड दिए।

"हामी स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेका छौँ, हामीले आन्दोलनकारी ढङ्गबाट अगाडि बढ्नुको विकल्प छैन," ओलीले भने, "अहिले होस् कि भोलि होस् कि तिहार–छठपछि होस्, हामी मानसिक रूपमा तयार भएर बस्नुपर्छ"। 

 वर्तमान सरकार निरंकुश ढङ्गले अघि बढिरहेको भन्दै उनले नेपाल प्रहरी बिनाबर्दी नागरिक पक्राउ गर्न जाने गरेको भन्दै कडा असन्तुष्टि व्यक्त गरे। "बोल्यो कि पुर्जी, बोल्यो कि गिरफ्तारी! के पुलिससँग ड्रेस छैन? बिनाबर्दी जाने, बलजफ्ती ढोका फोरेर भित्र पस्ने काम भइरहेको छ," उनले आक्रोश पोखे।पूर्वप्रधानन्यायाधीशदेखि प्रतिपक्षी नेताहरूलाई पूर्वाग्रह राखेर आतंक फैलाउने काम भइरहेको जिकिर गर्दै उनले फागुन २१ गते भएको निर्वाचन प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला मात्र भएको दाबी गरे। 

आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई नराम्रोसँग पराजित गर्ने प्रयास भइरहेको दाबी गर्दै उनले त्यसलाई 'दिवा सपना' मा परिणत गरिदिने बताए। एमाले सधैँ सत्य, न्याय, देश र जनताको पक्षमा दृढतापूर्वक उभिँदै आएकाले आगामी चुनावमा पार्टीले शानदार विजय हासिल गर्ने विश्वास उनले व्यक्त गरे।


प्रतिपक्षी दलहरूले छठपछिको समयलाई लक्षित गर्दै सरकारविरुद्ध मोर्चाबन्दी र आन्दोलनको तयारी गरिरहेको संकेत पाइरहेका बेला एमाले अध्यक्ष ओलीको यो कडा अभिव्यक्ति आएको हो। यसले आगामी दिनमा सडक सङ्घर्ष र राजनीतिक ध्रुवीकरण थप चर्किने अनुमान गर्न सकिन्छ।

बुधबार १२ कात्तिक २०८३ ०६:४४ PM मा प्रकाशित

प्रतिक्रिया