×

एनपीएलमा चितवन राइनोजको रोमाञ्चक जित: डाविड मलान र कमलसिंह ऐरी चम्किँदा स्तब्ध बन्यो विराटनगर किङ्स

images

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्समाथि ८ रनको रोमाञ्चक जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १ सय ४९ रनमा अलआउट भयो ।

एक समय १५.५ ओभरमा ५ विकेट गुमाएर १३२ रनको बलियो स्थितिमा रहेको विराटनगर त्यसपछिका ब्याटरहरू सस्तोमा समेटिएपछि जितको नजिक पुगेर पनि स्तब्ध बन्न पुग्यो ।

मलानको कीर्तिमानी अर्धशतक र चितवनको ब्याटिङ

यसअघि टस जितेर विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको चितवन राइनोजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।

चितवनका लागि ओपनिङ ब्याटर डाविड मलानले सानदार ब्याटिङ गर्दै ७० रनको अर्धशतकीय इनिङ खेले । ५० बल सामना गरेका मलानले ५ चौका र ५ छक्का प्रहार गरे । उनी जारी एनपीएल सिजनमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बनेका छन् । मध्यक्रममा रवि बोपाराले ३१ रन र ड्यान माउस्लीले २९ रन जोड्दै चितवनलाई बलियो योगफलसम्म पुर्‍याए । बलिङतर्फ विराटनगरका आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकाले समान १–१ विकेट लिए।

विराटनगरको मध्यक्रम धराशायी, ऐरीको घातक बलिङ

१५८ रनको लक्ष्य पछ्याएको विराटनगरका लागि ओपनर इमरान शेखले ३९ रन र लोकेश बमले २६ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । स्टार अलराउन्डर आन्द्रे रसेलले १७ बलमा ४ छक्का र १ चौकाको मद्दतले आक्रामक ३३ रन जोड्दै खेल विराटनगरको पक्षमा ढल्काएका थिए ।

तर, १६औँ ओभरको अन्तिम बलमा रसेल आउट भएसँगै विराटनगरको इनिङ धराशायी बन्यो । अन्तिमतिर कप्तान सन्दीप लामिछाने, प्रतिश जिसी र रुपेश सिंह खाता नै नखोली शून्यमा आउट भए ।

चितवनको जितमा कमलसिंह ऐरीले घातक बलिङ गर्दै एक्लैले ४ विकेट लिए । उनले ३.५ ओभरमा २६ रन मात्र खर्चेर विराटनगरको लोअर अर्डर ध्वस्त पारे । त्यस्तै, रिजन ढकालले २ विकेट तथा ड्यान माउस्ली र मौसम ढकालले १–१ विकेट हात पारे । उत्कृष्ट बलिङका लागि कमलसिंह ऐरी 'प्लेयर अफ द म्याच' चुनिए।

मङ्गलबार ११ कात्तिक २०८३ ०५:५२ PM मा प्रकाशित

प्रतिक्रिया