काठमाडौं, ११ कात्तिक । देशभर भइरहेको तथा हुन सक्ने भारी वर्षा र त्यसले निम्त्याउन सक्ने विपद्का घटनालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको सिंगो स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
मौसम पूर्वानुमान महाशाखाको भारी वर्षाको चेतावनीसँगै सम्भावित बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य जोखिमका बेला स्वास्थ्य सेवा प्रवाहमा कुनै पनि किसिमको अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्देशन जारी गरिएको हो। मन्त्रालयले प्रभावित क्षेत्रमा तत्काल प्रतिकार्य (Emergency Response) गर्न सकिने गरी तयारी अवस्थामा बस्न मातहतका सबै निकायलाई आग्रह गरेको छ।
तयारी तथा आपत्कालीन व्यवस्थापनका मुख्य बुँदाहरू:
चिकित्सकीय टोली तयारी: सम्बन्धित हब तथा स्याटेलाइट अस्पताल सञ्जालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (EMT) र आवश्यक स्वास्थ्य जनशक्तिलाई हरक्षण तयारी अवस्थामा राख्ने।
औषधि तथा सामग्रीको उपलब्धता: विपद् प्रभावित क्षेत्रमा औषधीजन्य सामग्री, जीवन बचाउने उपकरण र अन्य आवश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिने।
आपत्कालीन केन्द्र सञ्चालन: संघीय तथा प्रदेशस्तरका स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूसँग निरन्तर सम्पर्कमा रही सहजीकरण र व्यवस्थापन गर्ने।
हेल्पलाइन सेवा: कुनै पनि आपत्कालीन सहयोग तथा अतिरिक्त जानकारीका लागि मन्त्रालयको निःशुल्क हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ।
मन्त्रालयले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राखी स्वास्थ्यकर्मीहरूलाई आफ्नो कार्यक्षेत्र नछाड्न र जनस्वास्थ्यको आपत्कालीन अवस्थामा द्रुत गतिमा खटिनका लागि सजग गराएको छ।
प्रतिक्रिया