काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा बौद्ध भिक्षुणी तथा प्रसिद्ध गायिका आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर सडकदेखि सदनसम्म विवाद चुलिएका बेला सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएको छ। मन्त्रिपरिषद्को बैठकले आनी छोइङलाई कोषको उपाध्यक्ष नियुक्त गरेपछि उठेका वैधानिक प्रश्नहरूलाई सम्बोधन गर्नुको सट्टा नागरिकमाथि धरपकड गरिएको भन्दै कांग्रेसले सरकारको कडा आलोचना गरेको हो।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मंगलबार सामाजिक सञ्जालमार्फत आधिकारिक धारणा सार्वजनिक गर्दै सरकारलाई आफ्नो गलत निर्णय सच्याउन चेतावनी दिएका छन्। उनकै दल समेत सम्मिलित सरकारले नियुक्तिको विरोध गर्ने नागरिकलाई मध्यरातमा नियन्त्रणमा लिएर मानसिक दबाब दिने र फेरि लुसुक्क छाड्ने गरेको भन्दै पौडेलले सो रवैयाको भर्त्सना गरे।
महामन्त्री पौडेलले सरकारलाई प्रश्न गर्ने नागरिकलाई तर्साउन खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। नियुक्ति विवादलाई लिएर मध्यरातमै नागरिक पक्राउ गरिएको घटनातर्फ इंगित गर्दै उनले भनेका छन्, "राति–राति जाग्ने यस्तो अहंकारलाई शासन भनिँदैन, सनक भनिन्छ। गलत निर्णय भएको छ, सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन"।
लुम्बिनी केवल भगवान् बुद्धको जन्मस्थल मात्र नभई नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा भएको कांग्रेसको ठहर छ। यस्तो संवेदनशील संस्थाको नेतृत्व चयन गर्दा केवल 'लोकप्रियता' लाई मात्र आधार बनाउनु पर्याप्त नहुने महामन्त्री पौडेलले स्पष्ट पारे।
कांग्रेसले सार्वजनिक र रणनीतिक महत्त्वका नियुक्तिहरू गर्दा उमेदवारको योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहिता जस्ता आधारभूत पक्षहरूलाई अनिवार्य रूपमा हेरिनुपर्ने अडान राखेको छ।
नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नागरिकताको वैधानिकता र विगतको वैदेशिक आर्थिक कारोबार (सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान) सम्बन्धी गम्भीर प्रश्नहरू सार्वजनिक रूपमा उठेका छन्। ती प्रश्नहरूको निरूपण र स्पष्ट जवाफ नआएसम्म सरकारले यस नियुक्तिको औचित्य र छनोटका आधार पुष्टि गर्न नसक्ने कांग्रेसको दाबी छ।
किन चर्किएको छ त आनी छोइङको विरोध?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि ४ सयभन्दा बढी विज्ञहरूको रोस्टर (सूची) तयार पारेको भए पनि उक्त सूचीभन्दा बाहरिबाट आनी छोइङलाई ल्याइएपछि स्थानीय समुदाय र विभिन्न नागरिक अभियानहरू आन्दोलित बनेका छन्। 'लुम्बिनी बचाउ महाअभियान' र 'राष्ट्रिय जेनजी नागरिक अभियान'ले काठमाडौँको माइतीघर र लुम्बिनी क्षेत्रमा चरणबद्ध प्रदर्शन गर्दै आएका छन्।
आन्दोलनकारीहरूले आनी छोइङको वंशजको नागरिकता लिँदा पेस गरिएको विवरण मेल नखाएको तथा सन् २०१९ मा हङकङबाट नेपाल भित्रिएको भनिएको करिब १६ लाख ४९ हजार ९४० अमेरिकी डलरको स्रोत खुलाउनुपर्ने माग गरिरहेका छन्। यही विरोध कार्यक्रमका क्रममा लुम्बिनीमा पर्यटन मन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले महाअभियानका संयोजक अकरम खाँलाई मध्यराति घरैबाट नियन्त्रणमा लिएर चौतर्फी दबाबपछि मंगलबार दिउँसो मात्र रिहा गरेको थियो। सोही धरपकड लगत्तै सत्तारुढ दल कांग्रेसभित्रैबाट जनआवाज दबाउने सरकारी शैलीको विरुद्ध कडा वक्तव्य आएको हो।
प्रतिक्रिया