×

हाई-प्रोफाइल वित्तीय सेटिङको जरा खोज्दै प्रहरी: इनम र सुशील भट्टबारे अनुसन्धान गर्न एसपीको कमाण्डमा विशेष टोली

images

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र बिचौलिया दीपक भट्टसँग जोडिएको बहुचर्चित आर्थिक अनियमितता तथा सेटिङ प्रकरणमा प्रहरीले अनुसन्धानको दायरालाई थप फराकिलो बनाएको छ। यसै सिलसिलामा पक्राउ परेका बिचौलिया इनम सापकोटा र लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टमाथि सूक्ष्म छानबिन गर्न प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीको नेतृत्वमा विशेष अनुसन्धान समिति गठन गरिएको छ। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालय (रानीपोखरी) ले गठन गरेको यो विशेष समितिले जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान टोलीलाई प्राविधिक तथा व्यावहारिक सहयोग गर्नेछ। समितिमा वित्तीय अपराध अनुसन्धानमा पोख्त अधिकारीहरूका साथै आवश्यकता अनुसार सूचना प्रविधि (आईटी) विज्ञ र चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत समावेश गरिने प्रहरीले जनाएको छ।

अनुसन्धान अधिकारीहरूका अनुसार, यसअघि पक्राउ परेका इनम सापकोटाको मोबाइल फोनको फरेन्सिक ल्याब परीक्षण गर्दा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्टसँग बारम्बार फोन तथा ह्वाट्सएपमा संवाद र डिजिटल कारोबारका प्रमाणहरू फेला परेका छन्। 

सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको मुद्दामा गत चैतदेखि थुनामा रहेका विवादित व्यवसायी दीपक भट्टलाई कारागारबाट छुटाउन र मुद्दा कमजोर बनाउन उनीहरूबीच ३० करोड रुपैयाँको 'सेटिङ' मिलाउने विषयमा चलखेल भएको दाबी प्रहरी स्रोतको छ। सुशील भट्ट तिनै बिचौलिया दीपक भट्टका दाजु हुन्, जसलाई विगतमा दीपककै प्रभावमा लगानी बोर्डको सीईओ बनाइएको आरोप लाग्दै आएको थियो। इनमसँग मिलेर भाइलाई हिरासतमुक्त गराउन विभिन्न शक्ति केन्द्रमा आर्थिक चलखेल गरेको पाइएपछि प्रहरीले सुशीललाई ललितपुरबाट नियन्त्रणमा लिएको हो। 

काठमाडौँको पानीपोखरीस्थित इनम सापकोटाको अपार्टमेन्टमा छापा मार्दा प्रहरीले महत्वपूर्ण कागजात र डिजिटल उपकरणसँगै १ हजार ४ सय अमेरिकी डलर तथा अन्य देशका विदेशी मुद्राहरू बरामद गरेको थियो। कानुनी व्यवस्था अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) सम्बन्धी कसुर स्थापित गर्न 'प्रेडिकेट अफेन्स' (सम्बद्ध मूल कसुर) आवश्यक पर्ने भएकाले प्रहरीले यसलाई अवैध विदेशी मुद्रा कारोबार र वित्तीय अपराधको रूपमा व्याख्या गर्दै अनुसन्धान अघि बढाएको छ। 

यो प्रकरणको जरा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग पनि जोडिएको छ। जबरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनको मोबाइलमा समेत इनम सापकोटासँगका सन्देश र शङ्कास्पद सम्पर्क विवरण फेला परेका थिए। चोलेन्द्रका भाइ प्रभुशमशेर जबरासहित अन्य निकटस्थहरूको घरमा समेत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारिसकेको छ। 

एसपी नेतृत्वको विशेष समितिले यो गिरोहको राजनीतिक र सुरक्षा निकायका उच्च पदस्थहरूसँगको कनेक्सनबारे पनि फाइल खोलेको छ। यही प्रकरणमा पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी हिरासत कक्षमै पुगेर गोप्य रूपमा भेटेका र इनम सापकोटासँग लगातार संवादमा रहेका सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल छानबिनपछि बर्खास्त भइसकेका छन्। अनुसन्धानका क्रममा इनम र भट्ट समूहको सम्पर्क नेपाली कांग्रेसका केही उच्च तहका नेताहरूसँग समेत देखिएकाले प्रहरीले गम्भीरतापूर्वक कल डिटेल्स रेकर्ड (सीडीआर) र वित्तीय ट्रान्जेक्सन केलाइरहेको छ। 

विशेष अनुसन्धान समितिका संयोजक एसपी नरहरि रेग्मीका अनुसार यो गिरोहले राज्यका विभिन्न निकाय र ठूला ठेक्कापट्टा एवं वित्तीय निर्णयहरूमा नीतिगत भ्रष्टाचार र बिचौलियाको भूमिका खेलेको आशंकामा प्रमाण सङ्कलन तीव्र पारिएको छ। अदालतबाट म्याद थप गरी हिरासतमा राखिएका सुशील भट्ट र इनम सापकोटालाई आमनेसामने गराएर बयान लिने तयारी समितिले गरेको छ। 


 

मङ्गलबार ११ कात्तिक २०८३ ०६:१४ PM मा प्रकाशित

प्रतिक्रिया