काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई ललितपुर जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन्। खेल मिलेमतो (म्याच फिक्सिङ) तथा ठगीसम्बन्धी गम्भीर कसुरमा मुद्दा खेपिरहेका उनीहरू बुधबार अदालतमा उपस्थित भई बयान दिएका थिए।
थुनछेक बहस र बयानपछि जिल्ला अदालत ललितपुरका न्यायाधीश हरिसिंह धामीको एकल इजलासले अध्यक्ष नेम्वाङ र महासचिव राईलाई जनही ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
खेल मिलेमतो र ठगीसम्बन्धी कसुर दायर भएपछि फरार सूचीमा रहेका अध्यक्ष नेम्वाङ र महासचिव राई बुधबार आफैँ ललितपुर जिल्ला अदालतमा हाजिर भएका थिए। अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीका अनुसार उनीहरू आदेशबमोजिमको धरौटी रकम बुझाएर हिरासतमुक्त भइसकेका छन्। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले गत असोज २२ गते दर्ता गरेको अभियोगपत्रमा प्रतिवादीहरूबाट कुल ९३ लाख ९ सय रुपैयाँ बिगो र क्षतिपूर्ति भराउन माग गरेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हप्तौँ लामो अनुसन्धान प्रतिवेदनका आधारमा यो मुद्दा अघि बढाइएको हो।
उनीहरूमाथि राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गतको खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने कसुर र मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी गरेको अभियोग छ। एएफसीको 'एक्स्ट्रा टाइम प्रोजेक्ट' अन्तर्गत सामग्री खरिद गर्दा एउटै स्वामित्वका तीन कम्पनी खडा गरी लागतभन्दा बढी मूल्य देखाएर एन्फालाई आर्थिक नोक्सानी पुर्याएको दाबी सरकारी पक्षको छ। यही घोटाला प्रकरणमा एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई पनि प्रतिवादी बनाइएको थियो।
उनीहरू भने यसअघि नै क्रमशः १५ लाख र १२ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन्। अदालतबाट धरौटीमा छाड्ने आदेश आए पनि उनीहरूले मुद्दाबाट पूर्ण सफाइ पाएका होइनन्, कानुनी प्रक्रिया जारी रहनेछ। यता फिफाको निलम्बन झेलिरहेको एन्फाभित्र वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का नेतृत्वको असन्तुष्ट समूहले सातदोबाटोस्थित मुख्यालयको ताला खोली कात्तिक १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक डाकेपछि संस्थागत विवादले नयाँ मोड लिएको छ।
प्रतिक्रिया