चितवन — लगातारको अविरल वर्षा र त्रिशूली नदीको तीव्र बहावका कारण नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालमा सडकको करिब ७० मिटर भाग भासिएको छ। नदीले सडकको तल्लो भाग (Base) कटान गरेपछि सडकको करिब आधा हिस्सा नदीमा खसेको छ, जसका कारण सो क्षेत्रमा हाल एकतर्फी मात्रै सवारीसाधन सञ्चालन भइरहेका छन्। संघीय राजधानी काठमाडौँ र पोखरालाई देशको पूर्वी तथा पश्चिमी हिस्सासँग जोड्ने यो मुख्य लाइफलाइन सडक प्रभावित हुँदा यात्रुहरूले निकै सास्ती खेप्नुपरेको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार बिहान पौने ९ बजेतिर त्रिशूली नदीमा पानीको सतह अत्यधिक बढेर सडकको तल्लो जग नै कटान गरेको थियो।
नदीको तीव्र थपेका कारण सडकको झन्डै आधा चौडाइ र ७० मिटर लम्बाइको पीच भाग भासिएर त्रिशूलीमा खसेको छ। सडक साँघुरो बनेपछि चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटनाको जोखिम न्यून गर्न दुवैतर्फबाट पालैपालो गाडीहरू पास गराइरहेको छ। जसका कारण मुग्लिन र नारायणगढ दुवैतर्फ सवारी साधनको लामो जाम लाग्न थालेको छ।
सडक भासिएको सूचना प्राप्त हुनासाथ सडक डिभिजन भरतपुरको प्राविधिक टोली र हेभी इक्विपमेन्टहरू घटनास्थलमा पुगिसकेका छन्। नदीले सडकको तल्लो भाग निरन्तर काटिरहेकाले तत्काल ग्याभियन जाली भर्ने वा जग बलियो बनाउने काम चुनौतीपूर्ण बनेको प्राविधिकहरूले बताएका छन्।
सावधानीपूर्वक यात्रा गर्न अपिल: डिभिजन कार्यालयले सडकको बाँकी रहेको भाग पनि जोखिममा पर्न सक्ने भएकाले चालकहरूलाई अत्यधिक सावधानी अपनाएर, गति सीमित गरी गाडी चलाउन र ओभरटेक नगर्न कडा निर्देशन दिएको छ।
मुग्लिन–नारायणगढ खण्डमा लामो जाम र सडकको नाजुक अवस्थाका कारण साना सवारी साधन तथा अत्यावश्यक काममा निस्किएका यात्रुहरूलाई सम्भव भएसम्म वैकल्पिक सडक (जस्तै: त्रिभुवन राजपथ वा बीपी राजमार्ग) को प्रयोग गर्न ट्राफिक प्रहरीले सल्लाह दिएको छ। निरन्तरको वर्षाले पहाडी चट्टानहरू समेत खस्ने जोखिम रहेकाले रात्रिकालीन समयमा सो सडकखण्डमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ।
प्रतिक्रिया