×

अमेरिकाले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्यो

images

काठमाडौँ । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई विदेशी विद्यार्थीलाई भिसा नदिन निर्देशन दिएको हो।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले अमेरिका आउने व्यक्तिहरुले यहाँको कानुन बुझ्नुपर्ने बताइन् ।

ब्रुसले विद्यार्थी भिसाका आवेदकहरूले सामान्य प्रक्रिया अपनाएर मात्र आउनुपर्ने बताइन् । उनले भनिन् ‘यदि तपाईं अमेरिकी भिसाका लागि आवेदन दिँदै हुनुहुन्छ भने, सामान्य प्रक्रिया अपनाउनुहोस्, सबै चरणहरू पूरा गर्नुस् र जाँचको सामना गर्न तयार हुनुस्,’।

सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्णय गरेको बुझिएको छ ।

गत हप्ता ट्रम्प प्रशासनले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीहरू भर्ना गर्न दिने अनुमति रद्द गरेको थियो । चिनियाँसँग साँठगाँठ गरेको र यहुदी विरोधी गतिविधि बढाउन भूमिका खेलेको आरोप लगाउँदै ह्वाइटहाउसले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको थियो ।

निलम्बन कहिलेसम्म जारी रहन्छ भन्ने स्पष्ट छैन । अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई पत्र लेखेर अर्को निर्देशन नआउँदासम्म विदेशी विद्यार्थीहरुलाई भिसा नदिन भनेको अलजजिराले जनाएको छ ।

ट्रम्प प्रशासनले विश्वविद्यालयहरू र विद्यार्थीहरूमाथि दबाब बढाउँदै गएको बेला पछिल्लो यो कदम अमेरिकामा अध्ययन गर्न चाहने विदेशी नागरिकहरूका लागि झट्का भएको अलजजिराले लेखेको छ ।

बुधबार १५ जेठ २०८२ १२:१० PM मा प्रकाशित

प्रतिक्रिया