×

राम्रो काम गर्दागर्दै सरकार ढल्यो ,प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्छः प्रचण्ड

images

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले भ्रष्टाचार अन्त्यका साथै सुशासनका र अन्तराष्ट्रिय जगतमा माओवादी नेतृत्वको सरकारले गरेको राम्रा कामका कारण सरकारबाट बाहिरिनुपरेको भन्दै अब सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्।

सरकारबाट बाहिरिदै गर्दा जनतामा जाने ठूलो ऐतिहासिक अवसर प्राप्त भएको प्रचण्डले बताएको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

उनले अब जनताको सम्बन्ध थप स्थापित गर्नका लागि अभियान नै बनाएर जानुपर्नेमा समेत जोड दिएको सापकोटाले बताए। शुक्रबार पदाधिकारी बैठकमा ६ जना सदस्यहरुले धारणा राखेका थिए। उनीहरुले संघर्षका रुपमा पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने धारणा राखेको प्रवक्ता सापकोटाले बताए। पदाधिकारी बैठकले पार्टीलाई रुपान्तरण गर्दै जनतामा जाने अभियानको मार्गचित्र बनाउने उनको भनाइ छ।

शनिबार र आइतबार पदाधिकारी बैठक बस्ने र त्यसपछि स्थायी कमिटी हुदै केन्द्रीय कमिटी बैठक बसेर आवश्यक निर्णय गर्ने प्रवक्ता सापकोटाले जानकारी दिए। यस्तै बैठकबारे जानकारी दिँदै प्रवक्ता  सापकोटाले अध्यक्ष प्रचण्डले सुरुमै पछिल्लो राजनीतिक घटनाक्रम कसरी विकसित भयो भन्ने सम्बन्धमा सविस्तार जानकारी गराएको बताए । 

सरकारमा बसेर भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै सरकार छाड्नु परेको प्रचण्डले ब्रिफिङ गरेको उनले बताए । 

‘सरकारमा बसेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै सरकार ढल्यो । यसबाट पाठ सिकेर हामीले जनतामा जान अवसर प्राप्त भएको छ । सम्पूर्ण ध्यान पार्टीलाई बनाउन लाग्न दिशानिर्देश दिनुभयो’, प्रचण्डको भनाइ उदृद्ध गर्दै सापकोटाले भने ।  

शनिबार १२ साउन २०८१ ०८:२० AM मा प्रकाशित

प्रतिक्रिया