×

‘बजेट कार्यान्वयनमा सरकार केन्द्रित’

images

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनमा प्रदेश सरकार केन्द्रित हुने बताउनुभएको छ । 

कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १७औँ बैठकमा मन्त्री विष्टले आगामी आर्थिक वर्ष २०७९/८० मा प्रदेशसभा सदस्यले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै प्रदेशको चार वर्षको बजेटमाथि समीक्षा गरी निर्माण गरिएको बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिने बताउनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारले सर्वाङ्गीण क्षेत्र समेटेर नै बजेट ल्याइएको छ । प्रदेश सरकारको अन्तिम बजेट भए पनि यसलाई अधूरा योजना सम्पन्न गर्ने ध्येयका साथ बहुवर्षीय र क्रमागत आयोजना निर्माण जोड दिइने मन्त्री विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक विकास र सुरक्षाका लागि हुम्ला, डोल्पा, कालीकोट, मुगुमा ५०, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानका लागि १०० शै्ययाको अस्पताल निर्माण अगाडि बढाइएको छ ।” 

बैठकमा सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशसभा नियमावली, २०७४ को नियम १३२ उपनियम ६ बमोजिम कर्णाली प्रदेश विनियोजन विधेयक २०७९ अन्तर्गत मन्त्रालयगत विनियोजन माथिको छलफलका लागि १२ गतेदेखि १८ गतेसम्मको कार्यतालिका निर्धारण भएको सूचना गर्नुभयो । उहाँका अनुसार उक्त विनियोजन विधेयकअन्तर्गत उहाँले असार १३ गते आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय १४ र १५ गते भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको छलफल हुनेछ ।
 
असार १६ र १७ गते आर्थिक मामिला तथा योजना मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र असार १८ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश लोकसेवा आयोग, मुख्य न्यायधिवत्ताको कार्यालय र प्रदेश योजना आयोगका शीर्षकमाथि दफावार छलफल हुने उहाँले जनाउनुभयो ।

आइतबार​ १२ असार २०७९ ०८:१३ PM मा प्रकाशित

प्रतिक्रिया