काठमाडौं । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाएकी रोशनी शाही मृत फेला परेकी छन्।
सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने शाही आइतबार कोठाभित्रै मृत फेला परेकी हुन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज न्यौपानेका अनुसार आइतबार दिउँसोसम्म पनि उनी बसेको कोठाको ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए।
जनप्रतिनिधिको रोहवरमा कोठा फोडेर हेर्दा सुत्ने कोठाको भुइमा उनको शव फेला परेको थियो। उनका श्रीमान उपत्यका बाहिर गएका थिए। केही दिनदेखि उनी कोठामा एक्लै रहेकी थिइन्।
प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको अवस्थामा उनी कोठाभित्रै मृत भेटिएकी हुन्। जाजरकोट स्थायी घर भएकी शाहीका छोराछोरी विदेशमा रहेको बुझिएको छ। उनको शरीरमा कुनै चोटपटक भने छैन। घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ। के कति कारणले मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया