काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको घटनामा सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्रीकै छोरा पनि पक्राउ परेको दाबी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा सहमहामन्त्रीका छोरा पक्राउ परेको र प्रहरीले तुरुन्तै छाडिदिएको जिकिर गरे । लिङ्देनले कमजोर अर्थतन्त्र सुधार्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने आवश्यकता औँल्याएका छन् । लिङ्देनले आफूसँग सो विषयको रेकर्ड समेत भएको जिकिर गरे ।
‘हामीसँग रेकर्ड छ, गृहमन्त्रीज्यू । भाटभटेनीको लुटपाटमा तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेका छन्,’ उनले भने, ‘किन छाड्नुभयो तुरुन्तै ?’ पक्राउ परेका सहमहामन्त्रीका छोराको नाम भने उनले खुलाएनन् । सहमहामन्त्रीका छोरासँगै गएका अर्का व्यक्तिले भाटभटेनीबाट कपडा लिएर गएको पनि उनले बताएका छन् । ती कपडा लिएर जाने व्यक्तिले कुरा खोलिदिने भनेर धम्क्याएपछि उनलाई पनि दुई घण्टामा नै प्रहरीले छाडेको लिङ्देनेको दाबी छ ।
‘तपाईंको नेताको छोराले रक्सी लिएर गयो । उसले ल्याएको मान्छेले म रक्सी खान्न मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो,’ उनले भने, ‘पछि थाहा भयो, तपाईंको प्रहरीले भिडियोमा हेरे पक्रियो । तर, नेताको छोरा रहेछ । नेताको छोरालाई छाड्नुभयो । ल्याएको मान्छे छुटेन । पछि यो कुरा सार्वजनिक गर्दिन्छु भनेर धम्क्याएपछि दुई घण्टामा छाडिदिनुभयो ।’
लिङ्देनले उक्त विषयबारे सत्यतथ्य सार्वजनिक हुन जरुरी रहेको बताएको छ ।अध्यक्ष लिङ्देनले शक्ति र पहुँचका आधारमाभन्दा पनि आवश्यकताका आधारमा बजेट ल्याइनुपर्नेमा जोड दिए । “सरकारमा रहेका नेताको गोजीबाट बजेट बन्ने र उनीहरुको निर्वाचन क्षेत्रलाई मात्र पैसा दिने स्थितिको अन्त्य होस् । बजेट पुस्तिका च्यात्नुपर्ने र विरोध गर्नुपर्ने अवस्थाको अन्त्य होस्”, उनले भने ।
गत चैत १५ गते तीनकुनेमा भएको घटनाको न्यायिक छानबिनका लागि आयोग गठनको माग राप्रपाले पुनः दोहो¥याएको छ । उक्त घटनाका क्रममा प्रदर्शनकारीबाटभन्दा पनि सरकारपक्षबाट दमन भएको उनको आरोप छ । “यदि त्यो घटना सुनियोजित थियो भने कुनै पनि प्रदर्शनकारीबाट प्रहरीले किन हतियार पक्रन सकेन ? प्रदर्शनकारीबाट लट्ठीसम्म बरामद भएको देखिँदैन”, उनले भने, “तर प्रहरीबाट ६५० भन्दाबढी राउण्ड अश्रुग्यास चलेको छ । अरु विभिन्न खालका फायरिङ भएका छन् ।”
उक्त प्रदर्शनसँग कुनै सम्बन्ध नै नरहेका र बाटो हिँडिरहेका व्यक्तिमाथि गोली प्रहार भएको लिङ्देनको भनाइ छ । प्रदर्शनका क्रममा भाटभटेनीमा भएको लुटपाटमा सत्तारुढ दलकै व्यक्तिहरु पक्राउ परेको र ती व्यक्तिलाई कारबाही नगरी छोडिएको आरोपसमेत उनले लगाए । उनले तीनकुने घटना प्रकरणमा न्यायिक आयोग गठनको पुनःमाग गरे ।
त्यस्तै, राजसंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भनेर गलत भाष्य बनाइएको उनको भनाइ छ । “राजाको कुरा गर्नु भनेको लोकतन्त्रको विरोध होइन । राजसंस्था र लोकतन्त्र एकअर्काका विकल्प होइनन्”, उनले भने, “विश्वमा कतिपय देशमा राजसंस्थासहितको उन्नत प्रजातन्त्र प्रयोगमा छ ।” राजनीतिक दल र सरकारले लोकतन्त्र विरोधी काम गरिरहेको आरोप पनि लिङ्देनको छ । लोकतन्त्रको विरोधी र पक्षमा को छ भनेर व्यवहारले देखाउने उनको भनाइ छ । राजनीतिक दलहरुले निरंकुश व्यवहार गर्न नहुने उनले संसद्मा उल्लेख गरे ।
प्रतिक्रिया