×

‘नेपाली कांग्रेस विभाजन भइसक्यो, अब लुकाउनुपर्ने केही छैन’ : रमेश लेखक

images

कञ्चनपुर । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस औपचारिक रूपमै विभाजन भइसकेको र अब यस यथार्थलाई लुकाउनुपर्ने कुनै अवस्था नरहेको बताएका छन् । बुधबार आयोजित कांग्रेसको कञ्चनपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता लेखकले पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेर हाल कांग्रेसका नाममा दुईवटा अलग–अलग सङ्गठन अस्तित्वमा रहेको स्पष्ट पारेका हुन् ।

पार्टीभित्र समानान्तर गतिविधि र अलग–अलग महाधिवेशनको अभ्यासले कांग्रेसलाई दुई चिरामा पुर्‍याएको तर्फ उनले संकेत गरे । हाल गगन थापा नेतृत्वको समूहले १५औँ महाधिवेशन सम्पन्न गरिसकेको छ भने अर्कोतर्फ शेरबहादुर देउवा पक्ष आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा जुटेको छ । यही सन्दर्भलाई जोड्दै लेखकले पार्टी विभाजनको यथार्थ स्वीकार गरेका हुन् ।

अधिवेशनलाई सम्बोधन गर्ने क्रममा नेता लेखकले भने, “नेपाली कांग्रेस विभाजित छ, दुईवटा सङ्गठन छ, दुईवटा पार्टी भएको अवस्था छ, त्यसमा लुकाउनुपर्ने केही छैन ।” यद्यपि, प्राविधिक र सङ्गठनात्मक रूपमा पार्टी विभाजित देखिए पनि वास्तविक कांग्रेसको मूल मर्म आफ्नै समूहमा सुरक्षित रहेको उनको दाबी थियो । उनले थपे, “कांग्रेसको आत्मा, विचार र भावना भने यहीँ छ ।”

एकताका लागि गरिएको संवाद प्रयास असफल

नेता लेखकले पार्टीलाई फुटबाट जोगाउन र एकताबद्ध राख्न अन्तिम समयसम्म प्रयास गरिएको जानकारी दिए । दुवै पक्षबाट हुन लागेका अलग–अलग महाधिवेशनका कार्यक्रमहरू रोकेर शीर्ष तहमा संवादमार्फत सहमति खोज्न आफूहरूले पहल गरेको उनले बताए । तर, आन्तरिक मतभेद र अडानका कारण पार्टी एकता जोगाउने उक्त पहल सार्थक हुन नसकेको उनको भनाइ थियो ।

नेतृत्व चयनमा केही साथीहरू छुटेको स्वीकारोक्ति

सङ्गठन सुदृढीकरण र अधिवेशनको प्रक्रियाबारे बोल्दै पूर्वगृहमन्त्री लेखकले सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास गर्दा केही नेता तथा कार्यकर्ताहरू समेटिन नसकेको स्वीकार गरे । सहमति जुटाउने क्रममा स्वाभाविक रूपमा केही साथीहरू जिम्मेवारीबाट छुट्न पुगेको उल्लेख गर्दै उनले आगामी दिनमा सङ्गठनलाई थप व्यवस्थित र भावनात्मक रूपमा एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए ।

कञ्चनपुर जिल्ला अधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै लेखकले वर्तमान राजनीतिक चुनौतीको सामना गर्न र पार्टीको वैचारिक धरातल जोगाइराख्न दृढतापूर्वक अघि बढ्न आग्रहसमेत गरे ।

बुधबार ३ मंसिर २०८३ ०६:५७ PM मा प्रकाशित

प्रतिक्रिया