×

‘बाह्य शक्तिले कठपुतली जिताउन खोज्दैछन्, आगामी चुनाव सामान्य हुँदैन’ : रामबहादुर थापा ‘बादल’

images

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा फासीवादी, पपुलिस्ट (लोकरिझ्याइँवादी) र लोकतान्त्रिक शक्तिहरूबीच भीषण सङ्घर्ष हुने बताएका छन् । बिहीबार काठमाडौँमा जारी पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले आगामी स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभाको निर्वाचन सामान्य प्रतिस्पर्धा मात्र नहुने स्पष्ट पारेका हुन् ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा गर्दै उपाध्यक्ष थापाले विगतको चुनावबाट प्राप्त निष्कर्षका आधारमा आगामी निर्वाचनको ठोस रणनीति तय गर्नुपर्नेमा जोड दिए । विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको कडा टकरावका रूपमा रहेको उल्लेख गर्दै उनले आगामी चुनावमा पनि यिनै शक्तिहरूबीच मुख्य प्रतिस्पर्धा हुने दाबी गरे ।

भेलालाई सम्बोधन गर्ने क्रममा थापाले बाह्य चलखेलको समेत संकेत गर्दै भने, “फासीवादी तथा पपुलिस्ट शक्तिहरूले आफ्नो एकाधिकार कायम राख्न चाहने र बाह्य शक्तिहरूले आफ्नो स्वार्थपूर्ति गर्न कठपुतलीहरूलाई विजयी बनाउनैपर्ने हुँदा आगामी निर्वाचनहरू सामान्य हुनेवाला छैनन् ।”

विगतका कमजोरीको आत्मसमीक्षा र विजयको सूत्र

उपाध्यक्ष थापाले आगामी निर्वाचनमा विजय हासिल गर्न पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउनु अनिवार्य रहेको बताए । विगतको निर्वाचनमा प्रमुख प्रतिद्वन्द्वी पहिचान गर्न नसकिएको, आफ्ना कमजोरी समयमै बुझ्न नसकिएको, प्रतिद्वन्द्वीविरुद्ध आवश्यक सहकार्य नभएको र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसकिएको उनले स्वीकार गरे ।

निर्वाचन जित्ने मूल आधार प्रस्तुत गर्दै उनले भने, “सङ्घर्षमा नीति, नेतृत्व र जनता नै विजयका मुख्य आधार हुन् । विजय प्राप्तिका लागि जनतासँग प्रत्यक्ष मितेरी गाँस्नुका साथै प्रतिद्वन्द्वीविरुद्ध सहकार्य र नेतृत्वको वरिपरि गोलबन्द हुनुपर्छ ।” पार्टीको केन्द्रीय कमिटीले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरी सही निष्कर्ष निकालेको भन्दै उनले अब त्यसलाई दृढतापूर्वक कार्यान्वयनमा लैजानुपर्ने बताए ।

भूराजनीतिक टकराव र सङ्घर्षको सङ्केत

राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिको रक्षाका लागि सङ्घर्षको विकल्प नरहेको बताउँदै थापाले एमालेको जारी राष्ट्रिय भेला नयाँ आधारमा नयाँ एकता र नयाँ सङ्कल्पको ठोस अभिव्यक्ति भएको उल्लेख गरे ।

पछिल्लो समय भूराजनीतिक शक्तिहरूबीचको सङ्घर्ष तीव्र बन्दै गएको, लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य बढिरहेको र वर्तमान सरकारप्रति जनताको आक्रोश चुलिँदै गएको उनको विश्लेषण छ । विकसित पछिल्ला राजनीतिक घटनाक्रमहरूले आगामी दिनमा संसदीय, सडक तथा कानुनी सङ्घर्षमा एमालेको विजयको स्पष्ट सङ्केत गरिरहेको दाबीसमेत उपाध्यक्ष थापाले गरे ।

बिहीबार ४ मंसिर २०८३ १०:२८ AM मा प्रकाशित

प्रतिक्रिया