सल्यान : नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले आगामी निर्वाचनमा नेकपा (एमाले) सँग चुनावी एकता र सहकार्य हुने निश्चितजस्तै रहेको बताएका छन्। चुनावी सहकार्यपछि एमालेसँग पार्टी एकताको ढोका पनि खुल्ने उनले विश्वास व्यक्त गरे।
नेपाली कम्युनिस्ट पार्टी सल्यानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता ज्वालाले कम्युनिस्ट आन्दोलनको एकतालाई आफ्नो पार्टीले मुख्य प्राथमिकतामा राखेको बताए। अहिले कम्युनिस्ट एकता आवश्यक मात्र नभई अनिवार्य भइसकेको उल्लेख गर्दै उनले यसका लागि आफ्नो पार्टीले वार्ता टोलीसमेत गठन गरिसकेको जानकारी दिए।
कम्युनिस्ट पार्टीमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको दाबी गर्दै ज्वालाले भने, "हामी एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचको एकताको विषयमा निष्कर्षमा पुगिसकेका छौँ। प्रदेशमा सहकार्य भइसकेको छ। अब चुनावी तालमेल र सहकार्य पनि हुन्छ।"
एकताका लागि दुवै पक्ष तयार हुनुपर्नेमा जोड दिँदै उनले खासगरी सिङ्गो एमाले र अध्यक्ष केपी शर्मा ओली पनि तयार हुनुपर्ने बताए। विगतमा ओलीकै कारण कम्युनिस्ट पार्टीको एकता भङ्ग भएको इतिहास रहेको स्मरण गराउँदै ज्वालाले त्यसको समीक्षा गरेर अघि बढ्नुपर्ने धारणा राखे।
"एक हातले ताली बज्दैन। त्यसका लागि एमाले र केपी ओली पनि तयार हुनुपर्छ। विगतको इतिहासको समीक्षा गर्दै अघि बढ्नुपर्छ," उनले भने।
आगामी निर्वाचनमा चुनावी तालमेल र सहकार्य निश्चितजस्तै रहेको दोहोर्याउँदै उनले त्यसपछिको सहकार्यले पार्टी एकताको ढोका खोल्ने आशा व्यक्त गरे। "चुनावी तालमेल र त्यो सहकार्यपछि पार्टी एकताको ढोका खुल्न सक्छ, हामी आशावादी छौँ," ज्वालाले भने।
प्रतिक्रिया