काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से ११.०५ अंकले घटेर २६२५ को विन्दुमा कायम भएको छ । मंगलबार पनि बजार १२.७९ अंकले ओरालो लागेको थियो । बुधबार कारोबार खुलेदेखि नै दबाबमा रहेको बजार दिनभरजसो रातो अंकमै सीमित रह्यो ।
नेप्से परिसूचकसँगै दैनिक कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा बुधबार कारोबार खुम्चिएर ४ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये ७० वटाको सेयर मूल्य बढेको छ भने १९९ वटा कम्पनीको मूल्य घटेको छ । त्यस्तै, १० वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
बैंकिङबाहेक सबै उपसमूह राताम्मे
बुधबार कारोबार भएका १३ वटा उपसमूहमध्ये बैंकिङ समूहमात्र झिनो अंकले हरियो देखियो भने बाँकी १२ वटै समूहगत सूचक राताम्मे बने । बैंकिङ समूह ०.०५ प्रतिशतले बढ्दा व्यापार समूहमा सबैभन्दा बढी २.४९ प्रतिशतको गिरावट आयो ।
अन्य समूहगत सूचकहरूको अवस्था यसप्रकार रह्यो:
कुन कम्पनीले कमाए, कसले गुमाए ?
बजार घटेको दिन लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३.०७ प्रतिशतले वृद्धि भयो । त्यसैगरी, उपकार लघुवित्तको २.९२ प्रतिशत, श्रीनगर एग्रिटेकको २.७५ प्रतिशत र बेनी हाइड्रोपावरको सेयर मूल्य २.३२ प्रतिशतले बढेको छ ।
गुमाउनेतर्फ एभरेस्ट कलरको सेयर मूल्यमा सबैभन्दा धेरै ८.६३ प्रतिशतको गिरावट देखियो । यस्तै, सयपत्री हाइड्रोपावरको ६.६५ प्रतिशत, भिजन लुम्बिनी ऊर्जाको ५.४९ प्रतिशत, सिर्जनशील लघुवित्तको ४.५८ प्रतिशत तथा चिरख्वा हाइड्रोपावरको सेयर मूल्य ४.३८ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार भएका शीर्ष कम्पनीहरू
कारोबार रकमका आधारमा बुधबार रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो । त्यसपछि क्रमशः सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सुपरमादी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, स्वेत गंगा हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक र शिवम् सिमेन्टको सर्वाधिक रकमको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया