×

समयमा काम नगर्ने निर्माण कम्पनीको ठेक्का तत्काल रद्द हुन्छ : मन्त्री सुनील लम्साल

images

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ गर्ने तथा संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गर्ने चेतावनी दिएका छन्।

काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाको महादेवटार सुरुङ ब्रेक थ्रु कार्यक्रममा बोल्दै मन्त्री लम्सालले फास्ट ट्र्याक निर्माणका क्रममा केही निर्माण कम्पनीको कमजोर कार्यसम्पादनका कारण समग्र आयोजना आलोचनामा परेको बताएका हुन्।

कुनैपनि हालतमा आयोजना लम्ब्याउने पक्षमा सरकार छैन

मन्त्री लम्सालले अब कुनै पनि निर्माण कम्पनीलाई थप समय र सुविधा दिएर आयोजना लम्ब्याउने पक्षमा सरकार नरहेको स्पष्ट पारे। उनका अनुसार प्याकेज नम्बर ९ए, ९बी, ८बी लगायतका केही प्याकेजमा निर्माण व्यवसायीको कार्यसम्पादन सन्तोषजनक छैन। पटक–पटक चेतावनी, ताकेता, स्थलगत अनुगमन तथा पत्राचार गर्दा पनि निर्माण कम्पनीहरूले आफ्नै प्रतिबद्धताअनुसार काम गर्न नसकेको उनको भनाइ छ।

काठमाडौंस्थित आयोजनाको प्रारम्भिक बिन्दुमा रहेका केही समस्या पनि छिट्टै समाधान गरिने बताउँदै उनले ती समस्या समाधान भएपछि रद्द गरिने ठेक्कासँगै बाँकी कामका लागि पुनः टेन्डर आह्वान गरिने जानकारी दिए।

सुरुङ निर्माण ऐतिहासिक उपलब्धि

मन्त्री लम्सालले फास्ट ट्र्याक निर्माणमा देखिएका चुनौतीबारे आम नागरिक तथा सञ्चारकर्मीलाई पर्याप्त जानकारी नभएको बताए। आयोजना सुरु हुँदा कार्यान्वयनका लागि आवश्यक उपयुक्त कानुनी व्यवस्था नै नरहेको अवस्थामा पनि नेपाली सेनाले निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाएको उनको भनाइ छ।

हालै सम्पन्न सुरुङमार्गको ब्रेक थ्रुलाई महत्वपूर्ण उपलब्धिका रूपमा औंल्याउँदै उनले उक्त सुरुङ नेपालको सबैभन्दा लामो सडक सुरुङ भएको बताए। साथै, यसलाई सडक निर्माणमा मात्र सीमित नराखी नेपाली प्राविधिक जनशक्ति उत्पादन र अनुभव अभिवृद्धिको महत्वपूर्ण अवसरका रूपमा लिनुपर्नेमा उनले जोड दिए। आयोजनामा काम गरिरहेका नेपाली इन्जिनियर, परामर्शदाता, सुपरभाइजर तथा नेपाली सेनाका प्राविधिक जनशक्ति भविष्यका ठूला पूर्वाधार आयोजनाका लागि देशकै महत्वपूर्ण सम्पत्ति बन्ने उनको भनाइ छ।

सेनाको प्रशंसा र आगामी रणनीति

कार्यक्रममा मन्त्री लम्सालले विपद्का बेला नेपाली सेनाले देखाएको तदारुकता, कार्यक्षमता तथा छोटो समयमै बेली ब्रिज निर्माण गर्न देखाएको सीपको उच्च प्रशंसा गरे। आगामी दिनमा यस्तै प्रकृतिका ठूला पूर्वाधार आयोजना सञ्चालन गर्ने सरकारको तयारी रहेको उल्लेख गर्दै उनले त्यसमा नेपाली सेनाको भूमिका थप विस्तार गरिने बताए।

सरकारले फास्ट ट्र्याकलाई निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित कमजोर कार्यसम्पादन भएका निर्माण कम्पनीमाथि कडाइ गर्ने र बाँकी कामलाई तीव्रता दिने नीति लिएको मन्त्री लम्सालले स्पष्ट पारे।

बुधबार ३ मंसिर २०८३ १२:४२ PM मा प्रकाशित

प्रतिक्रिया